दाङ जिल्ला भित्र सञ्चालित क्रसर तथा बालुवा उद्योगहरूको वैधानिकता र नियमनको माग गर्दै युवा जेनजी समूहले घरेलु तथा साना उद्योग कार्यालय, दाङमा ज्ञापनपत्र बुझाएको छ। ‘जेनजी दाङ, नेपाल’ नामक युवाहरूको समूहले जिल्लाका १० वटै पालिकामा सञ्चालित त्यस्ता उद्योगहरूको नवीकरण भए/नभएको यथार्थ विवरण माग गरेको हो।
समूहका सदस्य सन्देश भण्डारी क्षेत्री लगायतको टोलीले बुधबार कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै जिल्लाभित्रका क्रसर तथा बालुवा उद्योगहरू नियमविपरीत सञ्चालन भइरहेको हुनसक्ने भन्दै गम्भीर चासो व्यक्त गरेको छ। ज्ञापनपत्रमा भनिएको छ, “उपरोक्त सम्बन्धमा लुम्बिनी प्रदेश, दाङ जिल्ला अन्तर्गत १० वटै पालिका क्षेत्र भित्र सञ्चालनमा भएका क्रसर, बालुवा उद्योगहरू नवीकरण भएको वा नभएको र विकास निर्माण योजनाको नाममा कुन कुन क्रसर उद्योग सञ्चालनमा छन्, सो को विवरण उपलब्ध गराइदिनुहुन अनुरोध छ।”
युवाहरूले बुझाएको ज्ञापनपत्रमा उद्योगहरूको दर्ता, नवीकरणको अवस्था र विकास निर्माण आयोजनाको नाममा चलेका उद्योगहरूको समेत छुट्टै सूची माग गरिएको छ। प्राकृतिक स्रोतको अनियन्त्रित दोहन र वातावरणीय प्रभावलाई न्यूनीकरण गर्न यस्ता उद्योगहरूको नियमन अनिवार्य रहेको समूहको भनाइ छ।
यस विषयको गम्भीरतालाई दर्शाउँदै समूहले उक्त ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, घरेलु तथा साना उद्योग विभाग र सूचना विभाग काठमाडौंलाई समेत पठाएको छ। यस कदमले जिल्लामा अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगहरूमाथि निगरानी बढाउन र सम्बन्धित निकायलाई जवाफदेही बनाउन दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।
