• २०८३ असार २५
  • 2026 July 09, Thursday

राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतलाई सरकारले बोलायो फिर्ता

सरकारले राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतहश्रलाई फिर्ता बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ती राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका हुन् ।

मन्त्री खरेलका अनुसार चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका लागि नेपाली राजदूतलाई फिर्ता बोलाइएको छ । उनीहरुलाई आगामी कार्तिक २० गतेभित्र नेपाल फर्किसक्न भनिएको छ ।

सरकारको निर्णय अनुसार अब चीनका लागि राजदूत कृष्णप्रसाद ओली, जर्मनीका लागि राजदूत शैल रुपाखेती, इजरायलका लागि राजदूत धनप्रसाद पण्डित, मलेसियाका लागि राजदूत नेत्रप्रसाद तिम्सिना र कतारका लागि राजदूत रमेशचन्द्र पौडेल फिर्ता हुनुपर्ने छ । यस्तै, रुसका लागि राजदूत जंगबहादुर चौहान, साउदी अरबका लागि राजदूत नरेश विक्रम ढकाल, स्पेनका लागि राजदूत शनिल नेपाल, बेलायतका लागि राजदूत चन्द्रकुमार घिमिरे, अमेरिकाका लािग राजदूत लोकदर्शन रेग्मी र जापानका लागि राजदूत दुर्गाबहादुर सुवेदी समेत फिर्ता भएका छन् ।

उनीहरुलाई राजनीतिक भागबण्डाको आधारमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्ति गरेको थियो । यद्यपि, ओलीले नै नियुक्ती दिलाएका भारतका लागि डा. शंकर शर्मा, अष्ट्रेलियाका लागि चित्रलेखा यादव, दक्षिण कोरियाका लागि शीवमाया तुम्बाहाङ्फे लगयातलाई भने सरकारले फिर्ता बोलाएको छैन ।