चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती तीन महिनामा सरकारले कुल बजेटको १८ प्रतिशत खर्च गरेको छ। सरकारको आम्दानी र खर्चको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा ३ खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख रूपैयाँ बजेट खर्च भएको छ । यो चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँको बजेटको १८ दशमलव ५६ प्रतिशत हो ।
महालेखाका अनुसार असोज मसान्तसम्ममा चालुगत शीर्षकमा वार्षिक विनियोजनको २१ दशमलव ७५ प्रतिशत अर्थात् २ खर्ब ५६ अर्ब ८० करोड ६० लाख रूपैयाँ खर्च भएको छ। यस्तै, पुँजीगत शीर्षकमा वार्षिक विनियोजनको ४ दशमलव ७ प्रतिशत अर्थात् १९ अर्ब १८ करोड ३४ लाख रूपैयाँ र वित्तीय व्यवस्था शीर्षकमा २३ दशमलव ६१ प्रतिशत अर्थात् ८८ अर्ब ६० करोड रूपैयाँबराबर खर्च भएको छ।
सरकारले साढे ३ खर्ब बढी खर्च गरिसके पनि त्यसको तुलनामा आम्दानी भने निकै कम छ । यस वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । तर गत साउनदेखि असोजसम्ममा सरकारको राजस्व संकलन वार्षिक लक्ष्यको १६ दशमलव ५१ प्रतिशत मात्र संकलन भएको छ।
यी ३ महिनामा २ खर्ब ५३ अर्ब १८ करोड ७९ रूपैयाँ असुली भएको छ । जसमा, आन्तरिक राजस्वतर्फ १४ खर्ब ८० अर्ब रूपैयाँ उठाउने सरकारी लक्ष्य रहेकामा असोज मसान्तसम्ममा वार्षिक लक्ष्यको १६ दशमलव ८३ प्रतिशत अर्थात् २ खर्ब ४९ अर्ब ५ करोड १४ लाख रूपैयाँ असुली भएको छ।
यसैगरी, ५३ अर्ब ४४ करोड ६९ लाख रूपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य रहेकामा हालसम्म तीन दशमलव ७६ प्रतिशत अर्थात् २ अर्ब ७२ लाख रूपैयाँ प्राप्ति भएको छ।
यसले सरकारको आम्दानी र खर्च बीच ठुलो खाडल रहेको देखाएको छ ।