उर्जा मन्त्री कुलमान घिसिङको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेको भन्दै ६ वटा उद्योगको लाइन काटेको छ ।
प्राधिकरणले उद्योगहरुलाई प्रिमियम महसुलको बक्यौता तिर्न कात्तिक २ गतेसम्मको अल्टिमेटम दिएको थियो । तर निर्धारित मितिमा ६ वटा उद्योगहहरु मात्र बक्यौता बुझाउन आएपछि प्राधिकरणले बक्यौता तिर्न नआउने उद्योगको लाइन काट्न सुरु गरेको हो ।
प्राधिकरणका अनुसार मंगलबार बिहान जगदम्बा स्टील, शिवम सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटिएको छ । प्राधिकरणका अनुसार जगदम्बाले १ अर्ब ६० करोड, शिवमले ७७ करोड ८८ लाख, रिलायन्सले ७५ करोड ३७ लाख र घोराहीको ५० करोड ८५ लाख रुपैयाँ महसुल तिर्न बाँकी छ । यस्तै, अर्घाखाँचीले ४४ करोड ८४ लाख र त्रिवेणीले ३२ करोड १० लाख रुपैयाँ बुझाउन बाँकी रहेको छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुल बापतको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको व्यवस्था गरिएको बताए । तर त्यसका बाबजुद बक्यौता तिर्न नआएको भन्दै प्राधिकरणले ती उद्योगमा बिजुली दिन रोकेको हो ।