चाडवाडको आगमनसँगै घर-आँगन र जमघटमा तासको रमझम सुरु हुन्छ। तर, हामीले मनोरञ्जनका लागि खेल्ने यो तासको सुरुवात कहाँ र कसरी भयो होला? इतिहासकारहरूका अनुसार, तास खेलको यो रोचक यात्रा छिमेकी मुलुक चीनबाट सुरु भई व्यापारिक मार्ग हुँदै युरोप पुगेर विश्वव्यापी बनेको हो।
दशैँको जमघट होस् वा तिहारको देउसी-भैलो, नेपाली समाजमा तास रमाइलो र आत्मीयताको पर्याय बनेको छ। तर, हातमा खेलिने यी ५२ पत्तीको रोचक इतिहास हजार वर्षभन्दा पुरानो छ, जसको जरा चीनको ताङ वंशदेखि सुरु भएर इस्लामिक मुलुक, युरोप र अमेरिका हुँदै हाम्रो घरआँगनसम्म आइपुगेको हो।
तासको उत्पत्ति
ऐतिहासिक तथ्यअनुसार तास खेल्ने चलनको प्रारम्भ सातौँदेखि दशौँ शताब्दीको बीचमा चीनको ‘ताङ’ राजवंश (सन् ६१८-९०७) को समयमा भएको मानिन्छ। नवौँ शताब्दीका ऐतिहासिक दस्तावेजहरूमा यस्ता खेलहरूको सन्दर्भ भेटिएको इतिहासविद्हरू बताउँछन्।
इतिहासकारहरूका अनुसार, त्यसताका चिनियाँहरूले कागजका पातमा विभिन्न चित्र बनाएर खेल्ने खेलको विकास गरेका थिए, जसलाई “पैसेका कार्ड” (मनि कार्ड) भनिन्थ्यो। ती कार्डहरूमा मुद्रा, सिक्का र सुन-चाँदीका विभिन्न चिह्नहरू अंकित हुन्थे। यही अवधारणा नै पछि गएर तासका चार ‘सूट’(चिन्ह) अर्थात् पान, हुकुम, इँटा र चिडी को आधार बन्न पुग्यो।
इस्लामी संसार हुँदै युरोपको यात्रा
चीनबाट सुरु भएको यो खेल व्यापारिक मार्ग हुँदै भारत, फारस (हालको इरान) र अरब मुलुकहरूसम्म फैलियो। १२औं शताब्दीसम्ममा यो इस्लामिक मुलुकहरुको एक लोकप्रिय खेल बनिसकेको थियो। विशेषगरी, इजिप्टमा बनेका “ममलुक कार्ड्स”ले तासको विकासमा महत्त्वपूर्ण भूमिका खेले। यी कार्डहरूमा राजा, सेवक र सैनिक जस्ता दरबारी पात्रका चित्रहरू हुन्थे, तर मानव आकृति बनाउँनु इस्लामिक परम्परा अनुसार उचित नहुने हुँदा यी चित्रहरू केवल सांकेतिक थिए। यही दरबारी संरचनाले पछि युरोपमा “राजा, रानी र गुलाम”प्रणालीको जग बसाल्यो।
इ.सं. १४औं शताब्दीको अन्त्यतिर तासले युरोप महादेशमा पाइला टेक्यो। सुरुमा यो इटाली, स्पेन र जर्मनीमा लोकप्रिय भयो, जहाँ हरेक देशले आ-आफ्नै शैलीका कार्डहरू बनाए। तर, तासलाई आधुनिक र विश्वव्यापी स्वरूप दिने श्रेय फ्रान्सलाई जान्छ। १५औं शताब्दीमा फ्रान्सले तासका चारवटा सूट—पान, हुकुम, इँटा र चिडी—लाई मानक रूपमा स्थापित गर्यो, जुन आजसम्म पनि प्रचलनमा छ।
त्यस समयमा भएको छापाखाना प्रविधिको विकासले तासको यात्रामा क्रान्ति ल्यायो। पहिले हातले बनाइने हुँदा यो केवल राजदरबार र अभिजात वर्गमा सीमित थियो, तर छापाखानाले यसलाई सस्तो र सुलभ बनाइदिएपछि यो खेल सर्वसाधारणसम्म पुग्यो र युरोपभरि तीव्र गतिमा फैलियो।
अमेरिकी आविष्कार: ‘जोकर’ को आगमन
तासको ५२ पत्तीको समूहमा एउटा विशेष कार्ड ‘जोकर’ थपिएको भने धेरै पछि हो। इ.सं. १८६० को दशकमा अमेरिकामा “युकर” नामक खेलका लागि सबैभन्दा शक्तिशाली कार्डको रूपमा “जोकर” को आविष्कार गरिएको थियो। सुरुमा एउटा मात्र हुने यो कार्ड पछि गएर दुईवटा राख्न थालियो र बिस्तारै अन्य खेलहरूमा पनि यसको प्रयोग हुन थाल्यो। यही कालखण्डपछि तास विश्वव्यापी रूपमा जुवा, रणनीति र मनोरञ्जनको अभिन्न अंग बन्यो।
नेपालमा प्रवेश र सामाजिकीकरण
भारत हुँदै यो खेल नेपालमा कहिले भित्रियो भन्ने यकिन नभए पनि इतिहासकारहरू यसलाई मल्लकालको अन्त्यतिर वा राणाकालको सुरुवातमा भित्रिएको मान्छन्। सुरुमा यो खेल पनि दरबार, राणा परिवार र अभिजात वर्गबीच प्रतिष्ठा र मनोरञ्जनको माध्यम थियो। तर, समयसँगै यो सामान्य जनतामा पनि फैलियो।
आज, तास नेपाली संस्कृतिको एक महत्त्वपूर्ण हिस्सा बनिसकेको छ। विशेषगरी दशैं र तिहार जस्ता लामो बिदा हुने चाडबाडमा परिवार र साथीभाइ जम्मा भएर तास खेल्ने परम्पराले भेटघाट, रमाइलो र आत्मीयता बढाउने काम गर्छ। कागजका मुद्रा कार्डबाट सुरु भएको यो यात्रा आज हाम्रो चाडपर्वको अभिन्न रौनक बनेको छ।
मनोरञ्जनबाट जुवाको यात्रा
सुरुमा राजारजौटादेखि आम सर्वसाधारणको मनोरञ्जनको माध्यम बनेको तास बिस्तारै जुवाको रूपमा पनि खेल्न थालियो। यसले कतिपयलाई रातारात धनी बनायो भने कतिलाई सडकमा पुर्यायो। समयक्रममा यो खेल विभिन्न संस्कृतिहरूको अभिन्न अंग बन्न पुग्यो, जसको उदाहरण नेपालमा दशैँको समयमा देखिने तासको रौनक हो।
तासको इतिहासले यो खेल मनोरञ्जन र सामाजिकीकरणको एक सशक्त माध्यम भएको देखाउँछ। यद्यपि, यसको गलत प्रयोगले विकृति निम्त्याउन सक्ने हुँदा चाडपर्वको रमाइलोका लागि सीमित रहेर खेल्नु नै श्रेयस्कर हुने जानकारहरू बताउँछन्।