• २०८३ असार १४
  • 2026 June 28, Sunday

ऋणीले किस्ता नतिर्दा घट्यो अधिकांश वाणिज्य बैंकको नाफा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैङ्कहरूको नाफा घटेको छ। निष्क्रिय कर्जा र कर्जा असुलीको समस्याले गर्दा कुल २० वाणिज्य बैङ्कमध्ये १५ बैङ्कको नाफा घटेको हो । यस अवधिमा एउटा बैङ्क घाटामा पुगेको छ।

बैङ्कहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्म बैङ्कहरूले जम्मा १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १८.५ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैङ्कहरूको कुल नाफा १६ अर्ब १२ करोड रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैङ्कले गरेको छ। बैङ्कले पहिलो त्रैमासमा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ , यो गत वर्षको तुलनामा २२.९२ प्रतिशतले बढी हो। त्यसपछि सबैभन्दा धेरै नाफा नबिल बैङ्कले गरेको छ । बैङ्कले १ अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । यसै गरी प्राइम, एभरेस्ट र कुमारी बैङ्कले पनि अर्बभन्दा बढी नाफा गरेका छन्।

तर केही बैङ्कहरूको नाफा भने निकै घटेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको नाफा ९६.९२ प्रतिशतले घटेको छ भने कृषि विकास बैङ्कको नाफा पनि ९६.९९ प्रतिशतले खुम्चिएको छ। उता, यस अवधिमा सिटिजन्स बैङ्क २२ करोड ४ लाख रुपैयाँ घाटामा पुगेको छ।

निष्क्रिय कर्जामा वृद्धि, कर्जा असुलीमा समस्या, ब्याजदर घट्दै जानु, र व्यवस्थापकीय खर्च बढेका कारण बैङ्कहरूको नाफा घटेको बताइएको छ । बैंकरहरूको अनुसार जेनजी आन्दोलनपछि ऋणको किस्ता एवं ब्याज असुलीमा सुस्तता आएको छ । जसको सिधा प्रभाव बैङ्कहरूको नाफामा परेको हो । यसले बैङ्कहरूको ब्याज बक्यौता र सम्भावित कर्जा नोक्सानी व्यवस्थामा समेत दबाब बढाएको छ।