• २०८३ असार १४
  • 2026 June 28, Sunday

सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको बताएका छन् ।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले प्रत्येक मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको भन्दै भन्सार प्रशासनमा लागत कम हुनेगरी आमूल सुधार गर्ने प्रयत्न भइरहेको जानकारी दिए ।

उनले भने,‘प्रत्येक मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको छ । अर्थ मन्त्रालयमा पनि यहाँहरुले देख्नुभएकै छ–भन्सार प्रशासनमा लागत कम हुनेगरी आमूल सुधार गर्ने प्रयत्न भइरहेको छ ।’

त्यस्तै, उनले आम नागरिकले कर तिर्नको लागि सहज पहुँच पाउनेगरी कर तिर्ने विन्दुहरुलाई विस्तार गरिएको जानकारी दिए । ७७ जिल्ला र ठूलो बजारको आकार ग्रहण गरेका ठाउँहरु करिब १२० ठाउँमा उद्यमी व्यवसायले कर दाखिला गर्न र प्यान नम्बर लिन पहुँच प्राप्त गर्ने व्यवस्था गरिएको उनले बताए ।

उनले भने,‘आम नागरिकले कर तिर्नको लागि सहज पहुँच पाउनुपर्छ भन्नको लागि कर तिर्ने विन्दुहरुलाई विस्तार गर्दै लगेर ७५३ नगरपालिकामा एक वर्षभित्रै पुग्ने र तत्काल पुग्न नसक्ने भएकाले ७७ जिल्ला र ठूलो बजारको आकार ग्रहण गरेका ठाउँहरु करिब १२० ठाउँमा उद्यमी व्यवसायले कर दाखिला गर्न र प्यान नं लिन पहुँच प्राप्त गर्ने व्यवस्था गरिएको छ । यो तत्कालको सुधार हो ।’

निजी क्षेत्र र सरकार मुलुकको विकास,समृद्धि र रोजगारको साझेदार भएको बताउँदै उनले निजी क्षेत्र र सरकार सहकार्य अपरिहार्य रहेको धारणा राखे ।