• २०८३ असार १६
  • 2026 June 30, Tuesday

संसद विघटनविरुद्ध धादिङमा एमालेको मोटरसाइकल र्‍याली र कोणसभा

धादिङ। संसद विघटनको विरोधमा नेकपा (एमाले) ले धादिङको निलकण्ठ नगरपालिकामा मोटरसाइकल र्‍याली र कोणसभा सम्पन्न गरेको छ।

एमाले चोकबाट सुरु भएको मोटरसाइकल र्‍याली ससाहा हुँदै निलकण्ठ नगरपालिकाका मुख्य भागहरूको परिक्रमा गरी पुनः एमाले चोकमै पुगेको थियो। र्‍यालीपछि आयोजित कोणसभामा पार्टीका विभिन्न नेताहरूले आफ्नो धारणा सार्वजनिक गरे।

कार्यक्रममा युवा नेता चन्द्र रिजाल, जिल्ला उपाध्यक्ष अर्जुन गोर्खाली, सचिव राधिका सापकोटा र नगर अध्यक्ष काजी श्रेष्ठले वक्तव्य राखेका थिए।

वक्ताहरूले प्रधानमन्त्री सुशीला कार्कीको सरकारलाई असंवैधानिक ठहर गर्दै विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने माग राखे।

एमालेले देशभरका ७५३ वटै स्थानीय तहमा एकसाथ प्रदर्शन गर्ने घोषणा अनुसार धादिङमा पनि यो प्रदर्शन गरेको हो। कार्यक्रममा स्थानीय कार्यकर्ताहरू, युवाहरू र नागरिकको उल्लेखनीय सहभागिता रहेको एमाले धादिङले जनाएको छ।