• २०८३ जेठ २५
  • 2026 June 08, Monday

‘सुशीला कार्कीको औचित्य समाप्त भयो, राजीनामा दिनुपर्छ’

काठमाडौं । पहिला देश(पिलुल्स रिभोल्यूसन)ले मंसिर ५ गतेदेखि पौष १० गतेसम्म पूर्वको पाथीभरादेखि पश्चिम लिम्पियाधुरासम्म महासंकल्प यात्राको घोषणा गरेको छ । ‘पहिला देश’ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सुशीला कार्की नेतृत्वको सरकारको विस्थापनको मागसमेत गरेको छ ।

पहिला देशका संयोजक एसपी शाहले वर्तमान सरकारले जेन्जीको बलिदानको अवमूल्यन गरेर पुरानै बाटोमा हिँडेको आरोप लगाउँदै आफूहरुले उनको विस्थापन र देशको निकासका लागि संघर्षको घोषणा गर्नुपरेको बताए ।

पहिला देशका प्रवक्ता डा. निकोलस भुसालले जेनजी युवाहरुलाई गोली हान्न आदेश दिने तत्कालिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई पक्राउ गर्नुको सट्टा आफूहरुलाई पक्रने कार्य गैरन्यायिक भएको जिकिर गरेका छन् ।

बदलिँदो परिस्थिति अनुसार देशलाई नयाँ निकास दिनुको सट्टा भ्रष्टाचार र कुशासनलाई नै निरन्तरता दिने वर्तमान सरकारका प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने भुसालले बताए । पहिला देशका सचिवालय सदस्य धरणीधर दाहालले सुशीला कार्की सिंहदरबारमा फोटो झुन्ड्याउन मात्रै आएको जिकिर गर्दै प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन नहुने आवस्थामा फागुन २१ गते चुनाव हुन नदिने चेतावनी दिए ।

संकल्प यात्रा अभियान–

मंसिर ५ गते ताप्लेजुङ र पाँचथर, मंसिर ६ गते इलामा र झापा, ७ गते मोरङ–सुनसरी, ९ गते धनकुटा–भोजपुर, १० गते खोटाङ, ११ गते ओखलढुङ्गा–सिन्धुली, १३ गते सप्तरी, सिराहा र धनुषा, १५ गते बारा,पर्षा र रौतहट, १६ गते मकवानपुर, चितवन र नवलपरासी, १८ गते रुपन्देही, कपिलबस्तु र दाङ, १९ गते प्युठान, रोल्पा र रुकुम, २१ गते सल्यान र जाजरकोट, २१ गते सुर्खेत र दैलेख, २३ जुम्ला र कालिकोट, २५ बजाङ र बाजुरा, २६ गते दार्चुला र बैतडी, २८ गते डडेलधुरा र कञ्चनपुर, ३० गते कैलाली र डोटी, पुष १ गते अछाम, ३ गते बाँके र बर्दिया, ४ गते लिम्पियाधुारा ।

त्यसैगरी, काठमाडौं र वरिपरिका ७ जिल्लामा पुष ७ गतेदेखि १० गतेसम्म पहिला देश (पिलुल्स रिभोल्यूसन)ले अभियान चलाउने जानकारी दिएको छ । देश दौडाहा सकेपछि पुष १५ गते राजधानी काठमाडौंमा वृहत् राष्ट्रिय भेला गर्ने अभियानले जनाएको छ ।