काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोगमा बुझाएको नाम निर्वाचन प्रयोजनका लागि मात्रै भएको बताएको छ ।
एक सताअघि गठन भएको नेपाली कम्युनिस्ट पार्टीले आयोगमा बुझाएको स्थायी समिति सदस्यहरूको सूचीमा १३ जना महिला सदस्य थप गर्दै उक्त नाम निर्वाचन प्रयोजनका लागि मात्रै भएको स्पष्ट पारेको हो ।
प्रचण्डको सचिवालयले शुक्रबार बिहान सूचना जारी गर्दै कानुनअनुसार एक तिहाइ महिला समावेश गर्नुपर्ने बाध्यात्मक प्रावधानका कारण केन्द्रीय कार्यालयमा तत्काल उपस्थित भै हस्ताक्षर गरेका १३ जना उपलब्ध महिला केन्द्रीय सदस्यहरूको नाम निर्वाचन आयोगमा बुझाइएको जनाएको छ।
दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणहरूबारे केही भ्रम देखिएको भन्दै प्रचण्डको सचिवालयले त्यसबारे स्पष्टीकरण दिएको छ।
पार्टी संयोजक र सह–संयोजक बाहेकका सबै पद र समितिहरू आपसी सहमतिका आधारमा गठन हुने र यसका लागि गृहकार्य भइरहेको प्रचण्डको सचिवालयले भनेको छ। एकीकृत पार्टीको केन्द्रीय समितिसहितका सबै संरचना समेत यही प्रक्रियाअनुसार टुंगो लाग्नेछ।
‘निर्वाचनको व्यवस्थापकीय आवश्यकता र समयको चापका कारण आयोगमा एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको सूची बुझाइएको थियो,’ प्रचण्डको सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कानुनअनुसार एक तिहाइ महिला समावेश गर्नुपर्ने बाध्यात्मक प्रावधानका कारण केन्द्रीय कार्यालयमा तत्काल उपस्थित भै हस्ताक्षर गरेका १३ जना उपलब्ध महिला केन्द्रीय सदस्यहरूको नाम पनि त्यही सूचीमा थपेर महिला प्रतिशत पुर्याइएको हो। यो कुनै अलग संरचना होइन। बिधान बमोजिम संरचना बनाउन बाँकी छ।यसैले आयोगमा पेश गरिएको सूचीबारेका कुनै पनि भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबैमा हार्दिक अनुरोध छ।’
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित एक दर्जनभन्दा बढी वाम विचारधाराका समूहहरू मिलेर यही कात्तिक १९ गते नेपाली कम्युनिष्ट पार्टी गठन गरिएको थियो।
सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको आम निर्वाचनको प्रयोजनार्थ यही ३० गतेभित्र दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नु पर्ने सूचना निर्वाचन आयोगले जारी गरेको छ।
यी हुन् थपिएका १३ जना ?
धर्मशीला चापागाईं – कोशी प्रदेश । बोधमाया कुमारी यादव र सीता पोखरेल – मधेश प्रदेश । रेणु दाहाल, कल्पना धमला र विमला सुवेदी – बागमती प्रदेश । सुशीला सिंखडा – गण्डकी प्रदेश । दामाकुमारी शर्मा र ताराकुमारी घर्ती – लुम्बिनी प्रदेश । पुष्पा घर्ती विष्ट – कर्णाली प्रदेश । रुपा (सोशी) चौधरी, रेणु चन्द र बिना मगर – सुदूरपश्चिम प्रदेश ।