• २०८३ जेठ २२
  • 2026 June 05, Friday

चालु आवको ४ महिना बितिसक्दा पनि मधेसका २४ स्थानीय तहले ल्याएनन् बजेट

सर्लाही । चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि मधेस प्रदेशका २४ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । संविधानले सङ्घ, प्रदेश र स्थानीय तहका लागि बजेट पेस गर्ने निश्चित मितिहरू तोकिदिएको छ, जेठ १५ गते सङ्घीय सरकार, असार १ गते प्रदेश सरकार र असार १० भित्र सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने प्रावधान छ । तर मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये २४ तह अझै बजेटविहीन अवस्थामा रहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सर्लाहीका मलङ्गवा नगरपालिका, हरिवन नगरपालिका, चन्द्रनगर र रामनगर गाउँपालिकाले बजेट पेस गरेका छैनन् ।

यस्तै, सप्तरीका राजविराज नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका, बलान बिहुन गाउँपालिका र कल्याणपुर नगरपालिकाले बजेट पेस गरेका छैनन् ।

सिराहाका धनगढीमाई र सुखीपुर नगरपालिका, धनुषामा क्षिरेश्वर र नगराइन नगरपालिका, औरही, कमला, धनौषी र जनकनन्दिनी गाउँपालिकाले पनि चालु वर्षको बजेट पेस गर्न बाँकी नै छ ।

त्यस्तै, महोत्तरीको सोनमा गाउँपालिका, रौतहटका कटहरिया, देवाही गोनाही र फतुवा विजयपुर नगरपालिका तथा यमुनामाइ गाउँपालिकाले पनि बजेट पेस गरेका छैनन्।

बारामा महागढीमाई नगरपालिका र विश्रामपुर गाउँपालिका तथा पर्साको पकाहा मैनपुर गाउँपालिका पनि बजेट ल्याएका छैनन्।