• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

महेश बस्नेतको विरोधमा जेनजीको प्रदर्शन, बाराको सिमरामा कर्फ्यु

बारा । नेकपा एमालेका नेता महेश बस्नेतको आगमनको विरोधमा युवाहरूले प्रदर्शन गरेपछि बाराको जीतपुर सिमरा उपमहानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। प्रदर्शनका क्रममा प्रहरी र युवाहरूबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको थियो।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार, मध्यान्ह साढे १२ बजेदेखि लागू हुने गरी बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम शान्ति सुरक्षा कायम गर्न कर्फ्यु लगाउनु परेको प्रशासनले जनाएको छ।

प्रशासनले जारी गरेको सूचनाअनुसार, जीतपुर सिमरा उपमहानगरपालिका भित्रको गण्डक नहरदेखि पथलैया सडक खण्डको दायाँ–बायाँ ५ सय मिटर क्षेत्र तथा सिमरा विमानस्थलको वरिपरि ५ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ।

कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ जस्ता गतिविधि गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

एमाले नेता महेश बस्नेत बारा आउने थाहा पाएपछि ‘जेनजी’ नामले चिनिएका युवाहरूको समूहले सिमरा विमानस्थल घेराउ गर्दै विरोध प्रदर्शन गरेको थियो। सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा स्थिति नियन्त्रण बाहिर जाने देखिएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

कर्फ्यु अवधिभर एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक बोकेका सवारी साधन, कूटनीतिक नियोगका गाडी र हवाई टिकट भएका यात्रुहरूलाई सुरक्षाकर्मीले सहजीकरण गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।