• २०८३ जेठ २२
  • 2026 June 05, Friday

एमसिसीले नेपाललाई थप ५ करोड डलर अनुदान दिने

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपालका लागि एमसिसी कम्प्याक्टमा अतिरिक्त ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान थप गर्ने भएको छ। परियोजनाअन्तर्गत उपलब्ध कुल सहायता १ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ।

सम्झौताअनुसार अमेरिकाबाट कुल ५५ करोड डलर (हालको विनिमय दर अनुसार ७८ अर्ब रुपैयाँभन्दा बढी) र नेपाल सरकारबाट १९ करोड ७० लाख डलर लगानी हुने उल्लेख छ। एमसिसीबाट प्राप्त अतिरिक्त सहयोगले नेपालका प्राथमिकता प्राप्त प्रसारण लाइन तथा ऊर्जा पूर्वाधार परियोजनालाई पूर्णता दिन महत्त्वपूर्ण टेवा पुर्‍याउने जनाइएको छ।

अमेरिकी दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यो आर्थिक सहयोगले अमेरिका र नेपालबीचको चिरस्थायी साझेदारी प्रतिबिम्बित गर्दछ। दशकौँसम्म दुवै देशले आर्थिक वृद्धि, ऊर्जा सुरक्षा र पारस्परिक समृद्धिलाई अघि बढाउन सँगै काम गर्दै आएका छौँ। एमसिसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित र अनुदानमा आधारित सहायतामार्फत निरन्तरता दिएको छ।’

यसले ऊर्जा ग्रिडको सुदृढीकरण, उत्पादन-प्रसारण-व्यापार शृङ्खलामा विश्वसनीयता बढाउने र क्षेत्रीय ऊर्जा व्यापारलाई अझ थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

अनुदानले नेपाललाई अन्तर्राष्ट्रिय ऊर्जा कनेक्टिभिटीमा थप सक्षम बनाउने, बजार पहुँच सुधार गर्ने र ऊर्जा पूर्वाधार निर्माणमा अमेरिकी प्रविधि तथा दक्षताको उपयोग बढाउने उल्लेख गरिएको छ। यससँगै अमेरिकी कम्पनी तथा प्रविधि प्रदायकका लागि नेपाली ऊर्जा बजारमा प्रवेशको अवसर पनि विस्तार हुने बताइएको छ।

अमेरिकी दूतावासले यो सहयोगलाई नेपाल-अमेरिका सम्बन्धको दीर्घकालीन साझेदारी र पारस्परिक समृद्धिको साझा प्रतिबद्धताको प्रतीकका रूपमा व्याख्या गरेको छ । एमसिसी कम्प्याक्ट ऋणरहित अनुदानमा आधारित, उच्च प्रभावयुक्त पूर्वाधार निर्माणमा केन्द्रित कार्यक्रम भएकाले दीर्घकालीन आर्थिक वृद्धि र ऊर्जा सुरक्षामा यसको योगदान महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

यद्यपि, नेपालमा एमसिसी लागू भएको दुई वर्ष हुन लाग्दा पनि काम अपेक्षाकृत ढिलो गतिमा अघि बढिरहेको छ ।दुवै पक्षबाट छुट्टाइएको बजेट न्यून खर्च भइरहेको र यसले परियोजनाहरू समयमै सम्पन्न हुनेबारे शंका पैदा भइरहेको उल्लेख छ।