काठमाडौं । अमेरिकाको अध्यागमन नीतिविपरीत बसोबास गरिरहेका ३५ जना नेपालीलाई मंगलबार राति काठमाडौं डिपोर्ट गरिएको छ। उनीहरूलाई अमानवीय तरिकाले हत्कडी र नेल लगाएर नेपाल फर्काइएको प्रहरी स्रोतले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनीहरूसँग सोधपुछ गरेको थियो। सोधपुछका क्रममा उनीहरू सबै ‘डंकी रुट’ भनिने अवैध बाटो हुँदै अमेरिका पुगेको खुलेको छ।
स्रोतका अनुसार, उनीहरूलाई अमेरिकाबाट जहाजमा चढाउँदादेखि नै हातमा हत्कडी र खुट्टामा नेल लगाइएको थियो। उनीहरूले प्रहरीसँग हातगोडा बाँधिएकाले राम्ररी सुत्न र खानसमेत नपाएको गुनासो गरेका थिए। निराश र हतास मुद्रामा देखिएका उनीहरूका सामान बोरामा पोको पारेर पठाइएको थियो।
प्रहरीले उनीहरूलाई अमेरिका पठाउने दलालविरुद्ध उजुरी दिन आग्रह गरे पनि सबैले अस्वीकार गरेका छन्। केही एजेन्टले पैसा फिर्ता दिने आश्वासन दिएको र केहीले आफैँ सम्पर्क गरेर पैसा उठाउने बताएकाले उजुरी गर्न नचाहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरो प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।
डिपोर्ट भएर फर्किनेहरूमा एक ३६ वर्षीया महिला र एक १९ वर्षीय किशोरसहित अधिकांश विद्यार्थी उमेरका युवाहरू छन् । सोधपुछपछि उनीहरू सबैलाई आ-आफ्नो घर पठाइएको छ ।