• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भारतद्वारा नेपाललाई थप १० वटा बेलिब्रिज सहयोग

हेटौंडा । भारत सरकारले विपद्का कारण अवरुद्ध सडक सञ्जाल पुनर्स्थापनाका लागि नेपाललाई थप १० वटा बेलिब्रिज सहयोग गरेको छ।

बिहीबार हेटौंडामा आयोजित एक कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई उक्त पुलहरू हस्तान्तरण गरेका हुन्। गत वर्ष पनि भारतले बाढीपहिरो प्रभावित क्षेत्रका लागि १० वटा पुल उपलब्ध गराएको थियो।

कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले नेपालको पूर्वाधार विकासमा भारत सधैँ सहयोगी रहेको र यो सहकार्यलाई निरन्तरता दिने बताए। उनले हाल उपलब्ध गराइएका पुलहरू लामो र टिकाउ भएको जानकारी दिए।

मन्त्री घिसिङले भारत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्ग निर्माणमा भारतले पुर्‍याएको सहयोगको प्रशंसा गरे। उनले पूर्वाधार निर्माणले देशको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

भौतिक मन्त्रालयका सचिव केशव शर्माका अनुसार, सहयोगमा प्राप्त पुलहरू ७० मिटर लम्बाई र ५ दशमलव २५ मिटर चौडाईका छन्। नेपालमा ५० मिटरभन्दा लामा पुल खरिद गर्न कठिनाइ हुने भएकाले यो सहयोग महत्त्वपूर्ण रहेको उनले बताए।

तत्काल चारवटा पुल जडान गर्नुपर्ने आवश्यकता भए पनि हालसम्म १० मध्ये एउटा मात्र नेपाल आइपुगेको छ। भारतले पुल जडानका लागि आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराउने शर्माले जानकारी दिए। यो सहयोगले नेपालको विपद् प्रतिकार्य तथा पूर्वाधार पुनर्निर्माणमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।