• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्न १७१ संस्था छनोट

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण गर्न १७१ वटा संस्था छनोट गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेश जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणलाई गुणस्तरीय, वैज्ञानिक र पारदर्शी बनाउन देशभरका १७१ स्वास्थ्य संस्थालाई सूचीकरण गरेको हो ।

यस्तै, नयाँ मापदण्ड पूरा गर्न नसकेका २९ संस्थाको अनुमति खारेज गरिएको छ ।

प्रधानमन्त्री तथा श्रममन्त्री सुसीला कार्की नेतृत्वको मन्त्रालयले कात्तिक ३० गते मन्त्रीस्तरीय निर्णयमार्फत संस्थाहरुको सूचीकरण गरेको हो । मन्त्रालयले यसअघि लागू गरेको नयाँ स्वास्थ्य परीक्षण मापदण्ड कार्यान्वयनमा आएको छ । यो मापदण्ड श्रमिक स्वास्थ्य परीक्षणलाई वैज्ञानिक बनाउने उद्देश्यले तत्कालीन अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा गठन भएको ३० सदस्यीय उच्चस्तरीय कार्यदलको प्रतिवेदनका आधारमा संशोधन गरिएको हो ।

मन्त्रालयका अनुसार गत असार २६ देखि असोज ३१ सम्म राजधानी र बाहिर रहेका २०० स्वास्थ्य संस्थाको अनुगमन गरिएको थियो। जसमा १७१ संस्थाले मापदण्ड पुरा गरे भने २९ वटा असमर्थ रहे ।

नयाँ कार्यविधि अनुसार स्वास्थ्य परीक्षणको दायरा थप व्यापक बनाइएको छ । भिडियो एक्सरे, मधुमेह, फोक्सो परीक्षण, श्रवण परीक्षणलगायत नयाँ शीर्षक थपिएसँगै परीक्षण शुल्क पनि समायोजन गरिएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । साथै, प्रमुख परीक्षणहरूमा रगत परीक्षण (सीबीसी, इएसआर, प्लेटलेट), क्षयरोग परीक्षण, मिर्गौलाका परीक्षण, हेपाटाइटिस बी र सी, मलेरिया, सुगर, टाइफाइड आदि अनिवार्य गरिएका छन् ।

मन्त्रालयले कामदारको उमेर र पेसाअनुसार जोखिम समूह छुट्याएर श्वासप्रश्वास, छाला, मांसपेशी–हड्डी, क्यान्सर, मधुमेह, मुटुरोगजस्ता पेसागत जोखिमसम्बन्धी आवश्यक परीक्षण समेत अनिवार्य गरेको छ ।