• २०८३ असार १४
  • 2026 June 28, Sunday

४ महिनाको वैदेशिक व्यापार: ६ खर्बको आयात, ९३ अर्बको निर्यात

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ४ महिनामा नेपालको कुल वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भएको छ। भन्सार विभागका अनुसार गत साउनदेखि कात्तिकसम्ममा नेपालको वैदेशिक व्यापार २४ प्रतिशतले बढेर ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ पुगेको हो ।

यस अवधिमा निर्यात र आयात दुवै बढेको छ। चार महिनामा नेपालले ९३ अर्ब ४९ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७७ प्रतिशतले बढी हो। कुल व्यापारमा निर्यातको हिस्सा १३ प्रतिशत पुगेको छ, जबकि गत वर्ष निर्यातको हिस्स केबल ९ प्रतिशतमा सीमित थियो ।

यस अवधिमा आयात १८.७ प्रतिशतले बढेर ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब १३ अर्ब रुपैयाँको आयात भएको थियो।

व्यापारमा आयात र निर्यात बिचको असुन्तलका कारण यस अवधिमा मुलुकले ५ खर्ब १५ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोर्नुपरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १२ प्रतिशतले बढी समेत हो ।

यस अवधिमा सबैभन्दा धेरै डिजेल आयात भएको तथ्यांकले देखाएको छ । ४ महिनामा ३१ अर्ब ८९ करोड रुपैयाँ बराबरको डिजेल भित्रिएको छ। त्यसपछि कच्चा सोयाबिन आयल, पेट्रोल, खाना पकाउने ग्यास, सुन, मोबाइल फोन लगायतका बस्तु धेरै आयात भएका छन्।

यस अवधिमा सबैभन्दा धेरै सोयाबिन तेल निर्यात भएको छ। ४ महिनामा ३८ अर्ब ४३ करोड रुपैयाँको सोयाबिन तेल निर्यात भएको छ। त्यसपछि अलैंची, सनफ्लावर तेल, जूटका उत्पादन धेरै निर्यात भएका छन्।