• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

होटलको तन्नाले खुल्यो टोखा हत्याकाण्डको रहस्य! ५ सयको रिसमा जुत्ताको तुनाले कसियो घाँटी

काठमाडौँ । मान्छेको ज्यानको मूल्य कति ? यो प्रश्नको उत्तर खोज्न काठमाडौँको टोखामा भएको एउटा घटना काफी छ । मात्र ५ सय रुपैयाँको लेनदेन विवादले उग्र रूप लिँदा एक युवतीले अनाहकमा ज्यान गुमाउनु परेको छ ।

टोखा नगरपालिका–९ मा शनिबार बिहान तन्नाले बेरिएको अवस्थामा फेला परेको शवको रहस्य प्रहरीले सुल्झाएको छ । सुरुमा तेस्रो लिङ्गीको आशङ्का गरिएको उक्त शव युवती माया मगर भनिने आयुषा मगरको पुष्टि भएको छ भने हत्याको कारण ‘५ सय रुपैयाँको सापटी’ रहेको खुलेको छ ।

शनिबार बिहान ८ बजे सडक पेटीमा बेवारिसे अवस्थामा शव भेटिएको थियो । प्रहरीका लागि शवको पहिचान र हत्यारा पत्ता लगाउन शव बेरिएको ‘तन्ना र तकियाको खोल’ नै मुख्य सुराक बन्यो । तन्नामा ‘होटल रोयल कुन्डला’ को ट्याग देखेपछि प्रहरीको अनुसन्धान सोही होटलतर्फ मोडिएको थियो ।

होटलका सञ्चालक र म्यानेजरले घटनाबारे अनभिज्ञता प्रकट गरे पनि प्रहरीले त्यहीँ कार्यरत २४ वर्षीय कर्मचारी सूर्य थापा मगरलाई नियन्त्रणमा लियो । मदिराको नसामा रहेका सूर्यले प्रारम्भिक सोधपुछमै आफ्नो अपराध स्वीकार गरे ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार घटनाको मुख्य जड १५ दिनअघिको ५ सय रुपैयाँ सापटी थियो । आरोपी सूर्यका अनुसार आयुषाले ‘ब्राउन सुगर’ किन्न भन्दै उनीसँग ५ सय रुपैयाँ सापटी लगेकी थिइन् । कात्तिक २६ गते राति सूर्यले आफ्नो पैसा फिर्ता माग्दा आयुषाले दिन मानिनन् । त्यही निहुँमा भएको विवादले हत्याको रूप लियो । आक्रोशित सूर्यले आफूले लगाएको जुत्ताको तुना खोलेर आयुषाको घाँटी कसेर हत्या गरेको बयान दिएका छन् ।

हत्यापछि सूर्यले शवलाई ठूलो कालो प्लास्टिकमा प्याक गरे र होटलकै तन्नाले बेरेर बाहिर निकाले । प्रहरीले प्राप्त गरेको सीसीटीभी फुटेजमा राति १:५२ बजे उनले शव बोकेर बाहिर निस्केको देखिएको छ । घटनापछि मृतककी आमा कल्पना शेर्पालीले शव आफ्नी छोरी आयुषाको भएको सनाखत गरेकी छिन् । उनी विवाहित रहेको पनि खुल्न आएको छ ।