काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले विदेशी नागरिकलाई पढाउने शैक्षिक संस्थाहरूलाई जथाभावी अध्ययन भिसा सिफारिस नगर्न स्पष्ट निर्देशन दिएको छ। विभागले बुधबार सूचना जारी गर्दै पछिल्लो समय केही संस्थाले कानुनविपरीत विदेशी विद्यार्थी भर्ना गर्ने, नियमित पठनपाठनमा सहभागी नभएकालाई समेत अध्ययन भिसा सिफारिस गर्ने गतिविधि बढेको भन्दै कडाइ अपनाएको हो।
विभागका अनुसार आम्दानी मात्र उद्देश्य बनाएर अध्ययनमा संलग्न नहुने विदेशीहरूलाई भर्ना गर्ने, नेपालमा लामो समय बस्न वैकल्पिक माध्यमको रूपमा अध्ययन भिसा प्रयोग गर्ने विदेशीलाई सिफारिस गरिदिने, र कतिपयले कानुनले प्रतिबन्धित गतिविधिमा समेत संलग्न भएको पाइएको छ।
सूचनामा भनिएको छ, “भिसा र आम्दानी प्रयोजनका लागि मात्र विदेशी विद्यार्थी भर्ना नगर्न, अध्ययनरत विद्यार्थीहरूको पठनपाठनमा नियमित सहभागिता भएको यकिन गरी मात्र भिसा सिफारिस गर्न” विभागले सबै शैक्षिक संस्थालाई अनुरोध गरेको छ। साथै, कुनै विद्यार्थी शंकास्पद वा गैरकानुनी गतिविधिमा संलग्न भएको देखिएमा तत्काल अध्यागमन विभाग वा स्थानीय प्रशासनलाई जानकारी गराउन निर्देशन गरिएको छ।
यससँगै विभागले विदेशी नागरिकहरूलाई अध्यापन गराउने संस्थाहरूको नियमित अनुगमन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गरेको छ। साथै, विदेशी नागरिकको गतिविधि अनुगमनका लागि देशभरका ७७ जिल्ला अनुगमन समितिहरूलाई सचेत कर्तव्यबोध गराइएको विभागले जनाएको छ।
