काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि रोक लगाएको भिजिट तथा कामदार भिसा पुनः खुलाएको छ । काठमाडौंस्थित यूएई दूतावासले नेपाल प्रहरीद्वारा जारी गरिएको ‘चारित्रिक प्रमाणपत्र/प्रहरी रिपोर्ट’ अनिवार्य रूपमा पेस गर्नुपर्ने नयाँ सर्तसहित भिसा पुन: दिन थालिएको पुष्टि गरेको हो ।
भदौ २३ र २४ गते भएका जेनजी प्रदर्शनपछि जेलबाट कैदीहरू भागेको घटनालाई सुरक्षा चुनौतीका रूपमा व्याख्या गर्दै यूएईले नेपाली नागरिकका लागि भिसा जारी गर्न रोक लगाएको थियो । रोकबारे यूएईले नेपाललाई औपचारिक जानकारी नदिए पनि भिसा स्थगनका कारण हजारौँ नेपाली प्रभावित बनेका थिए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङका अनुसार भिसा प्रक्रिया फेरि खुलेसँगै केही आवेदकले आजैदेखि भिसा पाउन थालेका छन् । उनका अनुसार श्रम तथा परराष्ट्र मन्त्रालयले यूएईसँग निरन्तर समन्वय गर्दै आएको र प्रहरी रिपोर्ट अनिवार्य गर्ने सहमतिपछि भिसा खुलेको हो ।
भिसा रोकिँदा यूएई सरकारले ‘वर्क पर्मिट’ जारी गरिसकेका करिब ५ हजार नेपाली श्रमिक नेपालमै रोकिएका थिए । तीमध्ये धेरैको वर्क परमिट अवधि सकिन लागेको थियो। नेपाली श्रमिकका लागि यूएई प्रमुख गन्तव्य हो । आर्थिक वर्ष २०८१/८२ मा मात्रै २ लाख १ हजार १४८ नेपाली श्रम स्वीकृति लिएर यूएई गएका छन् । पुनः श्रम स्वीकृति समेत समावेश गर्दा यो संख्या २ लाख ७४ हजार ५९० पुग्छ ।
यूएई दूतावासले अहिले सबै प्रकारका भिसा खुला भएको जानकारी दिएको छ । भिसा पुनः खुलिसके पनि प्रहरी रिपोर्ट अनिवार्य गरेसँगै अब यूएई जाने इच्छुकले भिसा प्रक्रियामा नयाँ सुरक्षा मापदण्ड पूरा गर्नुपर्नेछ ।