काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढेर ९ हजार ५ सय रुपैयाँ पुगेको छ ।
पूर्व श्रममन्त्री शरदसिंह भण्डारीले ०८१ मङ्सिरमा मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरि ९ हजार ५०० रुपैयाँ कायम गराएका थिए । त्यतिबेला विरोधपछि उक्त शुल्क कार्यान्वयन प्रक्रिया रोकिएको थियो । उनको निर्णय बुधबारदेखि लागु भएको हो । त्यसअघि स्वास्थ्य व्यवसायीले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट ६ हजार ५ सयसम्म लिने गरेका थिए ।
नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले संस्थामा आबद्ध व्यवसायीलाई पत्राचार गर्दै बढेको शुल्क कार्यान्वयन गर्न भनेका छन् ।
३४ प्रकारका परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको, त्यसका लागि शुल्क ९ हजार ५ सय लिन, सरकारले थप गरेका परीक्षण अनिवार्य रूपमा कार्यान्वयन गर्न संस्थाहरूले व्यवसायीलाई अनुरोध गरेका छन् ।
प्रमुख परीक्षणहरूमा रक्त परीक्षण (सीबीसी, ईएसआर, प्लेटलेट), क्षयरोग परीक्षण (छातीको एक्स–रे, म्यान्टोक्स परीक्षण, स्पुटम एएफबी), मिर्गौलाको कार्य परीक्षण (सिरम युरिया, क्रियाटिनिन), हेपाटाइटिस बी र सी, मलेरिया, सुगर, टाइफाइडलगायत रहेका छन् ।
कामदारको उमेर र पेसाअनुसार जोखिम समूह छुट्याएर पेसागत रोग (श्वासप्रश्वासको समस्या, छालाका रोग, मांसपेशी र हड्डीका समस्या, क्यान्सर, मधुमेह, मुटुरोगजस्ता अवस्था)को आवश्यक परीक्षण गरिन्छ । यसअघि व्यवसायीले २० देखि २५ प्रकारका परीक्षण गर्दै आइरहेका थिए ।