संयुक्त राष्ट्रसङ्घको लागूऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र यूएन विमिनले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले महिला हिंसाको डरलाग्दो चित्र प्रस्तुत गरेको छ। प्रतिवेदनका अनुसार विश्वमा हरेक १० मिनेटमा एक महिला वा बालिकाको हत्या उनीहरूले चिनेकै व्यक्ति (विशेषगरी पार्टनर, पति वा परिवारको सदस्य)बाट हुने गरेको छ।
महिलाविरुद्ध हुने हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस (२५ नोभेम्बर) को सन्दर्भमा जारी यो प्रतिवेदनले ‘घर’ लाई महिलाका लागि सबैभन्दा घातक स्थानका रूपमा चित्रण गरेको छ।
प्रतिवेदनका अनुसार, सन् २०२४ मा मात्रै करिब ५०,००० महिला र बालिकाहरू घनिष्ठ पार्टनर वा परिवारका सदस्यहरूद्वारा मारिएका छन्। यो सङ्ख्या विश्वभर नियतवश गरिने महिला हत्याको कुल सङ्ख्याको ६० प्रतिशत हो। यसको अर्थ, हरेक दिन औसतमा १३७ जना महिलाको ज्यान आफ्नै मान्छेबाट गइरहेको छ।
नारी हत्या अचानक हुने घटना होइन। यी प्रायः लामो समयदेखि जारी हिंसाको अन्तिम रूप हो, जुन नियन्त्रण, व्यवहार, धम्की र अनलाइन उत्पीडनबाट सुरु हुने यूएन विमिनको नीति विभागकी निर्देशक सारा हेन्ड्रिक्सले बताइन्।
घनिष्ठ पार्टनर वा परिवारका सदस्यहरूद्वारा हुने महिला हत्याको दर अफ्रिकामा सबैभन्दा उच्च छ, जहाँ प्रति १ लाख महिलामा ३ जना पीडित हुने गरेका छन्। त्यसपछि अमेरिका (१.५), ओशिनिया (१.४), एसिया (०.७) र युरोप (०.५) रहेका छन्।
युरोप र अमेरिकामा हुने अधिकांश महिला हत्या परिवारका अन्य सदस्यभन्दा पनि ‘घनिष्ठ पार्टनर’ बाट हुने गरेको तथ्याङ्कले देखाएको छ। अल्बानियाको उदाहरण दिँदै प्रतिवेदनले भनेको छ, त्यहाँ मारिएका ९० प्रतिशत महिलाले हत्या हुनुअघि पीडकबाट हिंसा भोग्दै आएका थिए। कतिपय घटनामा जेलबाट छुटेको केही दिनमै अपराधीले महिलाको हत्या गरेका थिए।
प्रतिवेदनले हत्याका मुख्य कारणहरूमा ईर्ष्या, सम्बन्धविच्छेद गर्न अस्वीकार गर्नु, प्रहरीमा उजुरी गरेको बदला लिनु वा छुट्टिएपछि नयाँ सम्बन्ध स्वीकार गर्न नसक्नुलाई औँल्याएको छ।
हत्यालाई बढावा दिन ‘बन्दुक’ र ‘प्रविधि’ को भूमिका घातक देखिएको छ। घनिष्ठ पार्टनरले बन्दुक राख्दा हत्याको सम्भावना उल्लेख्य रूपमा बढेको पाइएको छ । अनलाइन स्टकिङ (पिछा गर्नु), डक्सिङ (गोपनीयता भङ्ग गर्नु) र तस्बिरमा आधारित दुर्व्यवहारजस्ता प्रविधिहरू महिलालाई नियन्त्रणमा राख्ने अस्त्र बनेका छन्।
बेलायतमा सन् २०११ देखि २०१४ बीच भएका ४१ घरेलु हत्याको विश्लेषण गर्दा ५८.५ प्रतिशत घटनामा हत्यापूर्व प्रविधिको प्रयोग गरेर निगरानी गरिएको पाइएको थियो।