काठमाडौँ । नेपाली कांग्रेस भित्रको विशेष महाधिवेशन हस्ताक्षर अभियान पक्षधरले आफूहरूले केवल महाधिवेशनको कार्यतालिका मात्र नमागेको स्पष्ट पार्दै चुनाव अघिको शक्ति-व्यवस्था नभई नयाँ नीति र नयाँ नेतृत्व खोजेको बताएका छन्।
बिहीबार एक विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टीको आन्तरिक जीवन र महाधिवेशन प्रक्रियामा देखिएको अन्योल चिर्न पुस २८ गतेभित्र विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न हुनुपर्ने माग गरेका हुन्।
अभियानले पार्टी अहिले गम्भीर संकटको मोडमा उभिएको र यसको सम्पूर्ण जिम्मेवारी वर्तमान केन्द्रीय नेतृत्वले लिनुपर्ने बताएको छ। जनताको अपेक्षा अनुसार पार्टीमा आमूल रूपान्तरण र नवीकरण आवश्यक रहेको भन्दै करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले वैधानिक रूपमा विशेष महाधिवेशनको माग अघि सारे पनि नेतृत्वले त्यसलाई बेवास्ता गरेकोमा उनीहरूले गहिरो दुःख व्यक्त गरेका छन्।
विधानको पूर्ण पालना गर्नु सबैको कर्तव्य भएको स्मरण गराउँदै विज्ञप्तिमा नियमित महाधिवेशनको मिति तोक्न आनाकानी गर्ने र विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी केन्द्रीय समितिको बैठक लम्ब्याउने प्रवृत्ति जिम्मेवार नेतृत्वको परिचय नभएको उल्लेख गरिएको छ।
कुनै पनि बहानामा अबिश्वसनीय नियमित महाधिवेशनको तालिकामा विशेष महाधिवेशनको माग निष्क्रिय हुन नसक्ने उनीहरूको जिकिर छ। वर्तमान कार्यसमितिको म्याद थप नगरी नियमित महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व आउने भएमा मात्र विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुने, अन्यथा पार्टी विधानले दिएको विशेष महाधिवेशनको अधिकार कसैले रोक्न नसक्ने चेतावनी उनीहरूले दिएका छन्।
अभियानले नेतृत्वसँग विधान केन्द्रीय कार्यसमितिका लागि लागू हुन्छ कि हुँदैन तथा देश र लोकतन्त्रभन्दा व्यक्तिगत स्वार्थ ठूलो हो भनी प्रश्न समेत गरेको छ। सुदृढ, एकताबद्ध र जनअपेक्षित कांग्रेस निर्माणका लागि विधानले तोकेको समयसीमा अर्थात् पुस २८ भित्र विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै उनीहरूले पद भन्दा पार्टी र देशको हित सर्वोपरि ठानेर अघि बढ्न सबैमा आह्वान गरेका छन्।
