• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भगवती कम्पोजिट इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिजले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको २० प्रतिशतले हुने ६ लाख ४४ हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्न लागेको हो ।

यसका लागि कम्पनीले बुधबार नेपाल लाइफ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नेपाल लाइफ क्यापिटलको कमलपोखरीस्थित कार्यालयमा सम्पन्न कार्यक्रमबीच बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडका तर्फबाट अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।

भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले विगत १५ वर्षदेखि चितवनको भरतपुरमा अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय उद्योगजन्य बस्तुहरु उत्पादन गर्दै आइरहेको छ । यसको उद्देश्य उच्च गुणस्तरका, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउनु रहेको छ ।

अत्याधुनिक Sheet Molding Compound (SMC) प्रविधिमा आधारित कभरहरू, डब्लु पी सी उच्च घनत्व hollow ढोका (WPC High Density Hollow Door), पार्टेशन बोर्ड एवम् वाल क्याडिङ्ग, वाल प्यानल जुन पानी, किरा, घाम र चिसोपन प्रतिरोधि हुनुका साथै दीगोपनाको दृष्टिले उत्कृष्ट, बलियो, टिकाउ र दीर्घकालीन प्रयोगका लागि उपयुक्त छन् ।

Fiber Reinforced Plastic Technology अन्तर्गत ढोका, झ्याल, ढोका–झ्यालको फ्रेम, फाइबर सिट, फाइबर बाथ टब, फाइबर स्लाइड तथा अन्य सबै प्रकारका फाइबर उत्पादनहरू उच्च गुणस्तरमा उत्पादन गर्दै आइरहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो ।