• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेकपा र जसपाको एक समूह बीच एकता, सशक्त पार्टी बन्ने दाबी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र जसपा एकता पक्षधरबीच एकता घाषणा भएको छ । बिहीबार काठमाडौंको सभागृहमा आयोजित एक समारोहकाबीच नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा (वहुमत) विद्रोही समूह, नेकपा विद्रोही समूह बीच एकता घोषणा गरिएको हो ।

१० बुद्देसहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र जसपाको तर्फबाट संघीय परिषद् राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

संयोजक प्रचण्डले कार्तिक १९ गतेदेखि आज मंसिर ११ गतेसम्म आउदा एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरु पनि अभियानमा प्रवेश गरेको भन्दै यसले अभियान सच्चा वामपन्थी कम्युनिष्ट र सच्चा देशभक्तहरुको अभियान बनिसकेको बताए ।

उनले भने, ‘१९ गतेदेखि आज मंसिर ११ गतेसम्म आउदा एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरु जसरी हाम्रो अभियानमा प्रवेश गर्नुभएको छ त्यसले के देखाउछ भने यो अब सम्पूर्ण सच्चा वामपन्थी कम्युनिष्टहरुको, सच्चा देशभक्तहरुको अभियान बनि सकेको छ मलाई विश्वास छ आउने दिनमा यसले पूर्णता प्राप्त गर्दै जाने छ र देशको रक्षा गर्ने कुरामा क्रान्तिका उपलब्धीको रक्षा गर्ने कुरामा हामीले नयाँ आन्दोलन छेड्नु छ ।’

यस्तै, उनले अभियान चुनाव जित्नको लागि नभई राष्ट्रको स्वाधिनताको रक्षा, राष्ट्रको सार्वभौमसत्ताको रक्षा गर्ने उद्देश्यका साथ एउटा बलियो तागत पैदा गर्ने संकल्पका साथ गरिएको अभियान भएको बताए ।

उनले युवा र आम नेपाली जनताको विकास र सुशासनको चाह नालाई सम्बोधन गर्ने दृढ संकल्पका साथ एकताको आन्दोलनमा सहभागि भएको पनि बताए ।
उनले भने, ‘नेपालमै रोजगारी सिर्जना गरेर नेपाली युवाहरु जेनजी युवाहरुले जुन आक्रोशका साथ आफ्ना मागहरु अगाडि सारेका छन् । देश विदेशमा भएका लाखौ नेपाली युवाहरुले देशभित्र रोजगारीको वातावरण बनेको हेर्न चाहेका छन् । ती युवाहरुको र आम नेपाली जनताको विकासको चाहानालाई, सुशासनको चाहानालाई सम्बोधन गर्ने दृढ संकल्पका साथ हामी यो एकताको आन्दोलनमा सहभागि भएको हो । यो एकता आन्दोलन हो ।’

यो एकता एउटा यस्तो शक्तिशालि अभियान हुनेवाला छ, जसले देशलाई र जनताको भावनालाई सम्बोधन गर्ने र भ्रष्टाचारीहरुलाई साच्चि नै कारबाही गर्ने गरि अगाडि बढ्ने पनि उनको भनाई छ ।

पार्टीका सहसंयोजक माधव कुमार नेपालले वर्तमान पार्टी एकताको आधार नै बलियो रहेको बताएका छन् ।

उनले पार्टीहरुको सबैभन्दा मुख्य कुरा नेपाली विशेषताको समाजवाद, वैज्ञानिक समाजवाद र समाजवादको कार्यक्रमको बारेमा साझा सहमति भएको भन्दै अब सन्तुलित र आत्मनिर्भर अर्थतन्त्रको निर्माणको उद्देश्य पूरा गर्न अगाडि बढ्ने बताए ।

उनले भने, ‘यो एकता जुन छ, यसको आधार नै बलियो छ । विचार मिलेको छ, सिद्धान्त मिलेको छ, मिति र कार्यक्रम मिलेको छ । सबैभन्दा मुख्य कुरा नेपाली विशेषताको समाजवाद, वैज्ञानिक समाजवाद र समाजवादको कार्यक्रमको बारेमा हाम्रो साझा सहमति भएको छ । नेपालको अर्थतन्त्रलाई दिगो, फराकिलो बनाउनु पर्ने र सँगै सन्तुलित रुपमा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने उद्देश्यलाई साकार पार्ने दिशामा अगाडि बढ्नु पर्ने छ ।’

यस्तै, उनले समृद्ध जीवनयापनको सुनिश्चितता भएको समाजको निर्माण गर्ने जनताको चाहानालाई पूरा गर्ने गरि इमान्दारिताका साथ भ्रष्टाचारको विरुद्धमा जुधेर र सुशासनको प्रत्याभूति गर्ने काममा पनि जुटेको बताए ।

उनले भने, ‘समानतायुक्त, न्यायपूर्ण विकासको बाटोमा अघि बढेको समृद्ध जीवनयापनको सुनिश्चितता भएको समाजको निर्माण गर्ने जनताको चाहानालाई पूरा गर्ने गरि इमान्दारिताका साथ भ्रष्टाचारको विरुद्धमा जुधेर र सुशासनको प्रत्याभूति गरेर विदेशमा पलायन हुने अहिलेको युवाहरुको अवस्थालाई अन्त्य गरेर कामबाट कुराबाट होईन ।’

विगतमा भएका गल्ती कमजोरीको समिक्षा गरेर त्यसलाई सुधार गर्ने संकल्प गरेर अगाडि बढ्नु पर्ने भन्दै उक्त कामले मात्र जनताको आशाको केन्द्रको रुपमा नेपाली कम्युनिष्ट पार्टीलाई स्थापित गर्न सक्ने उनको भनाई छ ।

उनले भने, ‘हिजो केही पनि काम भएन भन्ने खालको जुन निराशा छ त्यसलाई चिरेर भएको कामको प्रचार गर्नुपर्छ । गल्ती कमजोरीको समिक्षा गरेर त्यसलाई सुधार गर्ने संकल्प गर्नुपर्छ यो सबै हिसाबले अगाडि बढ्ने हो भने जनताको आशाको केन्द्रको रुपमा नेपाली कम्युनिष्ट पार्टीलाई स्थापित गर्न सक्छौ ।’