• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

विश्वमै नआएको ‘६जी’ नेपालमा ? वर्ल्डलिंकको भ्रमपूर्ण विज्ञापन र तथ्यको कसी

काठमाडाैं । के विश्वका शक्ति राष्ट्रहरूले अर्बौं डलर खर्च गरेर अनुसन्धान गरिरहेको ‘सिक्स जी’ (6G) प्रविधि नेपालमा भित्रिसकेको हो?

यदि इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वर्ल्डलिंक कम्युनिकेसन’ को पछिल्लो विज्ञापनलाई पत्याउने हो भने, नेपाल प्रविधिको दुनियाँमा अमेरिका र चीनभन्दा एक दशक अगाडि पुगेको मान्नुपर्ने हुन्छ। तर, प्रविधिको भित्री पाटो बुझ्नेहरूका लागि भने यो विज्ञापन ‘वर्षकै ठूलो मजाक’ र उपभोक्ता झुक्याउने ‘बजारिया फण्डा’ मात्र सावित भएको छ।

सामाजिक सञ्जालमा व्यङ्ग्य:

“नोबेल पुरस्कार दिनुपर्ने भो!” वर्ल्डलिंकले आफ्नो नयाँ प्याकेजलाई ‘वर्ल्डलिंक ६जी’ नाम दिएर प्रचार गरेपछि सामाजिक सञ्जाल तातेको छ। प्रविधि क्षेत्रका जानकार र सर्वसाधारणले यसलाई कम्पनीको ‘सस्तो लोकप्रियता’ भन्दै आलोचना गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा टंक दाहाल लेख्छन्, “नेपालको एउटा इन्टरनेट प्रदायकले 6G इन्टरनेट दिन्छौँ भन्दै प्रचार गरेको देखेँ। अमेरिका मै पनि २०३० मा मात्र आउँछ भनेको, अहिले रिसर्च फेजमै रहेको इन्टरनेट 6G नेपालमा कसरी ल्यायो हौ? अबको नोबेल पुरस्कार त्यही ISP का मालिकलाई दिनुपर्ने भो त।”

के हो ‘६जी’ को भित्री कथा?

खासमा वर्ल्डलिंकले भित्र्याएको प्रविधि मोबाइल डेटाको ‘6G’ नभएर ‘वाईफाई ६’ (WiFi 6) हो। यो राउटरले ६ गिगाहर्ज (6 GHz) को फ्रिक्वेन्सी ब्यान्ड सपोर्ट गर्छ। कम्पनीले ‘6 GHz’ (फ्रिक्वेन्सी) र ‘WiFi 6’ (स्ट्यान्डर्ड) को ‘६’ अंकलाई चलाखीपूर्ण तरिकाले जोडेर ‘6G’ (सिक्स जी) नाम दिएको देखिन्छ। मोबाइल नेटवर्कमा ‘G’ को अर्थ ‘जेनेरेसन’ (Generation) हुन्छ (जस्तै: 4G, 5G), तर राउटरको फ्रिक्वेन्सीमा ‘G’ को अर्थ ‘गिगाहर्ज’ (GHz) हुन्छ। यी दुई नितान्त फरक प्रविधि हुन्। कम्पनीले यही शब्दको द्विअर्थी (Dual meaning) फाइदा उठाएर उपभोक्तालाई भ्रममा पारेको देखिन्छ।

विज्ञापनमै प्राविधिक विरोधाभास

वर्ल्डलिंकको वेबसाइटमा राखिएको विज्ञापनलाई केलाउँदा त्यहाँ लेखिएको छ, “Experience the power of next-generation WiFi 6 with WorldLink 6G — designed for faster speeds, wider coverage”

यहाँ कम्पनीले दाबी गरेको ‘Wider Coverage’ (फराकिलो कभरेज) प्राविधिक रूपमा त्रुटिपूर्ण देखिन्छ।

६ गिगाहर्ज (6 GHz) फ्रिक्वेन्सीको वेभलेन्थ (Wavelength) छोटो हुन्छ। फिजिक्सको नियम अनुसार, फ्रिक्वेन्सी जति बढी भयो, त्यसको पर्खाल छिचोल्ने क्षमता (Penetration Power) उति नै कम हुन्छ र कभरेज एरिया घट्छ। यो प्रविधिमा इन्टरनेटको स्पीड (Speed) अत्याधिक हुन्छ, तर कभरेज भने २.४ गिगाहर्ज वा ५ गिगाहर्जको तुलनामा कम हुन्छ। ‘धेरै कभरेज’ भनेर प्रचार गर्नु उपभोक्तालाई प्राविधिक रूपमै गुमराहमा राख्नु हो।

नियामकको चेतावनी

उपभोक्ता झुक्याउने यस्ता विज्ञापनमा नेपाल दूरसञ्चार प्राधिकरणले पनि असन्तुष्टि जनाएको छ। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार ग्राहकलाई स्पष्ट नपारी द्विविधा हुने शब्द प्रयोग गर्न पाइँदैन। “सिक्स जी भनेर प्रचार गर्दा त्यो मोबाइल नेटवर्क हो कि वाईफाई हो, स्पष्ट हुनुपर्छ। नत्र कारबाहीको विषय बन्छ,” अर्यालले भने।

‘स्मार्ट मार्केटिङ’ कि ‘ठगी’?

नयाँ प्रविधि (WiFi 6E) भित्र्याउनु वर्ल्डलिंकको सराहनीय कदम हो। यसले पक्कै पनि गेमिङ, स्ट्रिमिङ र स्मार्ट होम डिभाइसहरूका लागि उच्च गतिको इन्टरनेट अनुभव दिन्छ। तर, राम्रो प्रविधिलाई बेच्नका लागि गलत र भ्रामक शब्दावलीको सहारा लिनुले ब्रान्डको विश्वसनीयतामाथि नै प्रश्न खडा गरेको छ।

उपभोक्ताले बुझ्नुपर्ने कुरा के हो भने– तपाईंका घरमा आउन लागेको राउटरले मोबाइलको 5G/6G जस्तो काम गर्दैन, यो केवल घरभित्र चल्ने वाईफाईको नयाँ संस्करण मात्र हो।