• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार शेरचनलाई पक्राउ गरेको हो ।

शेरचनमाथि बैंकलाई हानि नोक्सानी पुर्‍याउने गरी कर्जा दुरुपयोग तथा बैंकिङ कसुर गरेको आरोपमा पक्राउ गरिएको हो।

यसअघि कात्तिक ११ गते सीआईबीले प्रभु ग्रुपका अध्यक्ष तथा एमालेका पूर्व सांसद देवीप्रकाश भट्टचनलाई आर्थिक अपचलन तथा ठगीको आरोपमा पक्राउ गरेको थियो। करिब एक साता थुनामा बसेका भट्टचनलाई जिल्ला सरकारी वकिल कार्यालयको निर्देशनमा हाजिरी जमानीमा अनुसन्धान हुने गरी कात्तिक २५ गते थुनामुक्त गरिएको थियो।

त्यस्तै, सीआईबीले ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ लिन नहुने कसुरमा प्रभु म्यानेजमेन्टका पूर्वशेयरधनी तथा लेखा शाखामा कार्यरत हेमकुमार महाजुलाई पनि पक्राउ गरेको थियो। उनीमाथि हुण्डी कारोबारमा संलग्न रहेको आरोप छ।

सीआईबीका अनुसार शेरचनको पक्राउ पनि यही आर्थिक अनियमितता तथा बैंकिङ कसुरसम्बन्धी प्रकरणसँग जोडिएको छ ।