• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

के हो सीईओसहित उच्च अधिकारीहरू पक्राउ परेको प्रभु बैंकको अनियमितता ?

काठमाडौं । कर्जा अपचलनको आरोपमा आइतबार प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित उच्च अधिकारीहरू पक्राउ परे।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनीहरूलाई अनामनगरस्थित बैंकको केन्द्रीय कार्यालयबाटै नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बैंकका सिइओ शेरचनसहित डिसिओ मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठ छन् ।

आखिर बैंकको नेतृत्व सम्हालिरहेका शेरचनले के त्यस्तो अनियमितता गरे, जसले उनलाई हतकडी लगाउने अवस्थामा पुर्‍यायो ?

सीईओ शेरचनमाथि लागेको मुख्य आरोप भनेको नियम विपरित कर्जा प्रवाह गर्नु हो। उनले ‘प्रभु म्यानेजमेन्ट प्रा.लि’ नामको कम्पनीलाई कर्जा दिएका थिए। सो कम्पनीमा बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचनकै लगानी थियो। राष्ट्र बैंकको एकीकृत निर्देशन–२०७७ अनुसार बैंकका सञ्चालक वा उनीहरूको परिवारको १० प्रतिशतभन्दा बढी सेयर भएको कम्पनीलाई सोही बैंकले ऋण दिन मिल्दैन। तर, शेरचनले यो नियम तोड्दै अध्यक्षको कम्पनीमा कर्जा प्रवाह गरेको देखिएको छ।

आर्थिक वर्ष २०७७/७८ मै राष्ट्र बैंकले सीईओ शेरचन र तत्कालीन अध्यक्ष भट्टचनलाई ‘आफ्नै लगानी भएको संस्थामा ऋण दिएको’ भन्दै कारबाही स्वरूप सचेत गराएको थियो। नियामक निकायले सचेत गराउँदा गराउँदै पनि सोही प्रकरणको गहिराइमा पुगेर अहिले प्रहरीले अनुसन्धान थालेको हो।

यो पक्राउको अर्को कारण ‘प्रभु म्यानेजमेन्ट’ सँग जोडिएको सहकारीको पैसा हो। प्रभु म्यानेजमेन्टले विभिन्न सहकारीमार्फत रेमिटेन्सको काम गर्थ्यो। यस क्रममा सहकारीहरूले राखेको करिब १ अर्ब रूपैयाँ धरौटी रकम फिर्ता नभएको विवाद छ।

प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले १ अर्ब रूपैयाँ ठगी भएको भन्दै जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सोही अनुसन्धान गर्दै जाँदा बैंकबाट उक्त कम्पनीमा गएको कर्जा र त्यसमा सीईओ शेरचनको संलग्नता शंकास्पद देखिएको हो।