काठमाडौं । काठमाडौंको केशरमहलमा भएको कार दुर्घटनामा एक जना पैदलयात्रीको मृत्यु भएको छ भने एक ट्राफिक प्रहरीसहित दुईजना घाइते भएका छन् । मंगलबार दिउँसो करिब ३ बजेर १५ मिनेटतिर दक्षिण गेटतर्फबाट केशरमहलतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च २३४८ नम्बरको कार अनियन्त्रित भई पैदलयात्री र ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई ठक्कर दिएको हो ।
प्रहरीका अनुसार बेहोस अवस्थामा अस्पताल पुर्याइएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। मृतक पुरुषको पहिचान अझै खुल्न बाँकी रहेको छ ।
दुर्घटनामा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत हवल्दार परशुराम ठाकुर घाइते भएका छन् । उनको दुवै खुट्टा र छातीमा चोट लागेको छ । त्यस्तै, कार चालक, काठमाडौं महानगरपालिका–१६ का ६६ वर्षीया सुरेशराज कालिका पनि घाइते भएका छन् ।
कारले ट्राफिक र पैदलयात्रीलाई ठक्कर दिएपछि ड्रिम गार्डेनको पर्खालमा ठोक्किएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका एसपी नरेशराज सुवेदीले बताए । घाइतेहरूको राष्ट्रिय ट्रमा सेन्टर र नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।