• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

‘हर्कवाद’ हर्क साम्पाङको पार्टीको मूल सिद्धान्त, यस्ता छन् अवधारणा

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा हालै निर्वाचन आयोगमा दर्ता भएको श्रम संस्कृति पार्टीले आफ्नो प्रारम्भिक घोषणा पत्र र अवधारणा पत्र सार्वजनिक गरेको छ । साम्पाङको पार्टीले नेपालमा राजनीतिक, शैक्षिक, आर्थिक र शासकीय संरचना परिवर्तन गर्ने उद्देश्यसहित विस्तृत एजेन्डा अगाडि सारेको हो ।

पार्टीले प्रस्तुत गरेको दस्ताबेजमा पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ रहेको जनाइएको छ । यसले प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकासका लागि अनिवार्य श्रम र श्रमदानलाई आधार मान्दै गरिबी, विभेद र द्वन्द्वको अन्त्य सम्भव हुने तर्क गरिएको छ । अध्यक्ष साम्पाङले आफ्नो पार्टीले शक्तिको दुरुपयोग, असमान विकास र काठमाडौँ केन्द्रित संरचनालाई अन्त्य गर्दै श्रम-आधारित विकास मोडेललाई देशव्यापी रूपमा लागू गर्ने दाबी गरेका छन् ।

पार्टीले विद्यमान संसदीय व्यवस्थालाई अस्थिर र अप्रभावकारी ठहर गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, राष्ट्रपति-उपराष्ट्रपति फरक लिङ्ग र फरक जातिका हुनुपर्ने बाध्यात्मक प्रावधान, मन्त्री हुन सांसद हुनै नपर्ने र मन्त्री बन्न सम्बन्धित क्षेत्रका विज्ञ मात्र योग्य हुनेजस्ता संरचनागत परिवर्तन प्रस्ताव गरेको छ ।

सांसद मन्त्री बनेमा सांसद पद स्वतः निलम्बन हुने व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत जनसङ्ख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने नीति पनि पार्टीले अघि सारेको छ । संघीयस्तरमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक व्यवस्थापिका रहने, साथै प्रदेशका मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था पार्टीले कल्पना गरेको छ ।

शिक्षा क्षेत्रमा श्रम संस्कृति पार्टीले अत्यधिक कठोर र नयाँ मोडेल प्रस्तुत गर्दै विद्यालयमा हप्तामा तीन दिन मात्र सैद्धान्तिक पढाइ हुने र बाँकी चार दिन विद्यार्थीलाई उत्पादन, सिर्जना र सीप विकासमा लगाइने नीति प्रस्ताव गरेको छ । १२ कक्षासम्म खाना पकाउने र लुगा सिउने जस्ता जीवनोपयोगी सीप अनिवार्य राख्ने, १२ कक्षा उत्तीर्णपछि अनिवार्य सैनिक तालिम लिएपछि मात्र उच्च शिक्षा प्राप्त गर्न पाउने व्यवस्था र शिक्षकलाई कुनै राजनीतिक दलको सदस्यता लिन वा राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाउनेजस्ता प्रावधान घोषणापत्रमा समावेश छन् ।

राष्ट्रियता र सुरक्षाका सवालमा पार्टीले कडा नीति प्रस्तुत गर्दै देशभर क्रियाशील सबै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था खारेज गर्ने, सीमा सुरक्षाका लागि नेपाली सेनालाई सीमा क्षेत्रमा खटाउने र बलपूर्वक वा प्रलोभनमा पारेर गरिने धर्म परिवर्तनलाई दण्डनीय बनाउने घोषणा गरेको छ । विदेशी नागरिकसँग विवाह गरेका व्यक्तिले पाँच वर्ष नेपालमै बसोबास गरेको प्रमाण र विदेशी नागरिकता त्यागेको कागजात पेस गरेपछि मात्र नेपाली नागरिकता पाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

अर्थतन्त्रमा पार्टीले वैज्ञानिक कर प्रणालीमार्फत धनीबाट बढी कर लिई गरिबलाई सहुलियत दिने नीति, ‘एक गाउँ एक उद्योग’ र ‘एक घर एक स्वरोजगार’ अभियान, विदेशी लगानी बिना सर्त मात्र स्वीकार गरिने प्रणाली र सरकारी खर्चमा व्यापक कटौतीसहित मितव्ययी अर्थतन्त्र निर्माण गर्ने योजना सार्वजनिक गरेको छ । श्रमदानलाई राष्ट्रिय नीतिका रूपमा लागू गर्दै देशव्यापी उत्पादनमूलक कार्यक्रमलाई प्राथमिकता दिने पार्टीको लक्ष्य छ ।

सुशासनका क्षेत्रमा सरकारी कर्मचारीले गल्ती गरे सरुवा होइन, सीधै बर्खास्त गर्ने नीति, पत्रकार, सरकारी कर्मचारी र न्यायालयलाई पूर्ण रूपमा गैर राजनीतिक बनाउने र सबै सरकारी बैठक प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था पार्टीले प्रस्ताव गरेको छ । नयाँ पुस्ताको गुनासो र आवश्यकतालाई सम्बोधन गर्न जेनजी आयोग गठन गर्ने योजनासमेत पार्टीले अघि सारेको छ ।

राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्ति बन्न खोजिरहेका साम्पाङले श्रम, उत्पादन र स्थानीयकरणमा आधारित ‘हर्कवाद’लाई नयाँ राजनीतिक मोडेलका रूपमा प्रस्तुत गर्दै  घोषणापत्र सार्वजनिक गरेका हुन् ।