• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले दिए राजीनामा

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएका छन् । विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन् ।

प्रदेश सभा बैठकमा उनले विपक्षी दलहरूको रवैया र आचरणप्रति गम्भीर असन्तोष प्रकट गरे ।

सर्वोच्च अदालतले सोमबार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएको थियो। सोही अनुसार बुधबार बिहान प्रदेश सभा बैठक बोलाइएको थियो, तर मुख्यमन्त्री यादव नै अनुपस्थित रहेको कारण बैठक स्थगित गरिएको थियो । दिउँसो २:३० बजे पुनः बैठक सुरु भएको भएपनि विपक्षी दलहरू अनुपस्थित रहे । मुख्यमन्त्री यादवले विपक्षी दलहरूसमक्ष रोष प्रकट गर्दै उनीहरूको अनुपस्थिति जनताको विश्वास र संघीयताको बारेमा गम्भीर प्रश्न उठाउने टिप्पणी गरे ।

यादवले भने, “संविधान अनुसार मेरो नियुक्ति सही थियो, तर विपक्षी दलहरूले जुन विरोध र प्रदर्शन गरे, त्यसलाई मधेसी जनताले निकटबाट देखे। यसले मलाई ग्लानी महसुस गरायो । मैले विरोध नगर्न प्रदेश प्रमुखको कार्यालयमा शपथ लिनुपर्ने भएको थियो र सोही कारण होटलमा शपथ लिएको हुँ ।”