काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (क्यान) प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर (हेलिप्याड) निर्माणसम्बन्धी अनियमितता गर्दै राज्यलाई आर्थिक हानि पुर्याई व्यक्तिगत लाभ लिएको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर भएको हो।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रतिवादीहरूमाथि १३ करोड ५७ लाख बिगो दाबी गरिएको छ। दायर मुद्दामा महानिर्देशक अधिकारी, क्यानका तत्कालीन निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, प्राइभेट इन्जिनियर गुरुदत्त अधिकारी, अभियन्त्र कन्सल्टिङ प्रालिका निर्देशक विजय थापा र सोही कन्सल्टिङ कम्पनीलाई प्रतिवादी बनाइएको छ।
महानिर्देशक प्रदीप अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीलाई पक्राउ गरी अदालतमा हाजिर गरिएको आयोगले जनाएको छ। आयोगले हेलिप्याड निर्माणमा गम्भीर अनियमितता भएको ठहर गरेको छ ।