• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

उच्चपदस्थलाई ज्यान मार्ने धम्की आएपछि प्रहरी सतर्क, केही व्यक्ति नियन्त्रणमा

काठमाडौँ । आफूलाई ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईएनजी)’ का अध्यक्ष बताउने प्रकाश पाठक नाम गरेका व्यक्तिबाट देशका १० जना उच्चपदस्थ तथा चर्चित व्यक्तिहरूलाई ज्यान मार्ने धम्की आएपछि प्रहरीले सतर्कता बढाएको छ । प्रहरीले काठमाडौं उपत्यकाभित्र सुरक्षा निगरानी कडा बनाउँदै केही शंकास्पद व्यक्तिहरू नियन्त्रणमा लिएर सोधपुछ सुरु गरको हो ।

केही दिनअघि दुई पृष्ठ लामो धम्कीपत्र विभिन्न उच्चपदस्थ व्यक्तिहरूलाई इमेलमार्फत पठाइएको थियो । ‘ईएनजी’ को लेटरहेड रहेको उक्त पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जनालाई १० दिनभित्र राजीनामा दिन चेतावनी दिइएको छ । त्यसो नगर्ने उनीहरुको ज्यान लिने धम्की दिइएको छ। धम्कीपत्रमा लोकमान सिंह कार्की, गोपाल खड्का, रमेश लेखक, आरजु राणा, बालकृष्ण खाँण, दुर्गा प्रसाईं, ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द्र ठकुरीको नामसमेत उल्लेख छ ।

पत्र सार्वजनिक भइसकेपछि पाठकले सामाजिक सञ्जालमार्फत एउटा भिडियो जारी गर्दै धम्की दोहोर्‍याएको र आफूलाई भारतमा लुकेर बसेको दाबी गरेका छन्। उनले प्रहरी आफ्नो ‘कल डिटेल’ माग्दै खोजीमा लागेको, तर आफू बारम्बार स्थान परिवर्तन गरिरहेको भन्दै पक्राउ असम्भव रहेको जिकिर समेत गरेका छन् । पाठकले कति ठूलो समूह संचालन गर्दै आएका छन् भन्नेबारे पनि अझै प्रष्ट खुलेको छैन ।

धम्कीपत्रमा नाम जोडिएका वा पाठकसँग चिनजान तथा सम्पर्क रहेको आशंका गरिएका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको उच्च प्रहरी स्रोतले जनाएको छ । हालसम्म केही व्यक्तिहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र मुख्य धम्की दिने व्यक्तिको खोजी जारी रहेको प्रहरी स्रोतले जनाएको छ। नियन्त्रणमा लिइएकाहरूको परिचय भने सार्वजनिक गरिएको छैन ।

उता, उपत्यका प्रहरी कार्यालय रानीपोखरीले धम्कीमा परेका सबै १० जनाको निवास, भ्रमण मार्ग र सार्वजनिक कार्यक्रमस्थलमा निगरानी बढाउन उपत्यकाभित्रका सबै इकाइहरूलाई सर्कुलर गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौँ, भक्तपुर र ललितपुरका युनिटहरूले सूचना संकलन, गतिविधि अनुगमन र सम्भावित जोखिमका बिन्दुमा सुरक्षा व्यवस्था कडाइका साथ कार्यान्वयन गरिरहेका छन् ।

सर्कुलरमा ‘कथित उग्रवादी समूहहरूको गतिविधिबारे खबर संकलन गरी अन्य विशिष्ट व्यक्तिहरूको समेत प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन’ भनिएको छ ।