• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

मन्त्रालयलाई मेयरको व्यंग्यात्मक पत्र: ‘हाकिम नहुँदा पनि गाईभैंसी ब्याउन रोकिएन’

धनकुटा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकेको र बारम्बार सरुवा गरेर अस्थिरता निम्त्याएको भन्दै धनकुटाको पाख्रीबास नगरपालिकाका मेयरले अनौठो शैलीमा असन्तुष्टि जनाएका छन् ।

नगर प्रमुख ज्ञानबहादुर गुरुङले मन्त्रालयलाई पत्र लेख्दै ‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा पनि नगरमा गाईभैंसी ब्याउन र दूध उत्पादन हुन नरोकिएको’ भन्दै मन्त्रालयको कार्यशैलीमाथि तीखो व्यंग्य प्रहार गरेका हुन् ।

प्रायः प्रशासनिक समस्या र नीतिगत विषयमा लेखिने सरकारी पत्रको भाषाभन्दा नितान्त फरक शैलीमा मेयर गुरुङले कृषि र पशुपालनको उदाहरण दिँदै मन्त्रालयलाई झकझकाएका छन् । उनले पत्रमा लेखेका छन्, ‘(हाकिम) हुँदा र नहुँदा यस क्षेत्रमा धान फल्न, दाइँ गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाईभैंसी ब्याउन, दूध उत्पादन गर्न, सिँचाइ गर्न, फलफूल लगाउन, फुल्न, फल्न र सोको निकासा गरी बिक्रीवितरण गर्न कुनै समस्या नरहेको…।’

उनले मन्त्रालयलाई चुनौती दिँदै पत्रमा थप लेखेका छन्, ‘तहाँ मन्त्रालयबाट प्रत्येक महिना वा सम्भव भए दिनदिनै छुट्टाछुट्टै एक/एक जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकिपठाउँदा पनि फरक नपर्ने ब्यहोरा जानकारीका लागि अनुरोध छ ।’

कर्मचारी स्रोतका अनुसार गत चैत्रमा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) विज्ञान कोइरालालाई मन्त्रालयले इलामको सूर्योदय नगरपालिकामा सरुवा गरेको थियो । उपसचिवको दरबन्दी रहेको ठाउँमा मन्त्रालयले शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाउने तयारी गरेपछि मेयर गुरुङ रुष्ट बनेका हुन् ।

मेयर गुरुङको यो पत्र अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।