काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित ७ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी दुई छुट्टाछुट्टै मुद्दा दायर गरेको छ । आयोगले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख भट्टराईलाई मुख्य प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार भिजिट भिसामा २५७ जनालाई विदेश पठाउने नाममा अवैध रकम असुलेर भ्रष्टाचार गरिएको ठहरमा सहसचिव भट्टराई, अध्यागमन अधिकृत यज्ञराज अर्याल, ग्रीनलाइन होलिडेज प्रालिका सञ्चालक बालकृष्ण खड्का र राम खड्का, फ्यामिली होलिडेज एन्ड टुर्सका सञ्चालक दीपक भण्डारी, सिआइएसटी ल्याब सहायक कविता पौडेल र जग्गा व्यवसायी खेमराज सुवेदीविरुद्ध मुद्दा दायर गरिएको हो । कम्पनीतर्फ ग्रीनलाइन होलिडेज र फ्यामिली होलिडेज एन्ड टुर्सलाई प्रतिवादी बनाइएको छ ।
घुस–रिसावतसम्बन्धी मुद्दामा विभिन्न प्रतिवादीका नाममा फरक–फरक बिगो कायम गरिएको छ । सहसचिव भट्टराई, कविता पौडेल र सुवेदीको हकमा करिब ७९ लाख ८० हजार रुपैयाँ बिगो कायम भएको छ। बालकृष्ण खड्का र राम खड्काको हकमा ३० लाख २० हजार रुपैयाँ, दीपक भण्डारीको १० लाख ६० हजार रुपैयाँ र अध्यागमन अधिकृत अर्यालको ८ लाख रुपैयाँ बिगो तोकिएको छ ।
यस्तै, सम्पत्ति शुद्धीकरण मुद्दामा सहसचिव भट्टराई, कविता पौडेल र सुवेदीविरुद्ध एक करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगोसहित छुट्टै मुद्दा पेस गरिएको विशेष अदालतले जनाएको छ ।
अख्तियारले सहसचिव भट्टराईलाई २०८१ चैत ७ गते अध्यागमन कार्यालयबाट पक्राउ गरेको थियो । भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम समेत सार्वजनिक रूपमा मुछिए पनि उनीमाथि भने मुद्दा चलाइएको छैन ।