• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गोठभित्रै हिउँ चितुवाको ताण्डव, एकै रातमा १९ भेडा–च्याङ्ग्रा सखाप

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित सन्तोष परियारको गोठमा हिउँ चितुवा पसेर एकै रातमा ठूलो क्षति पुर्‍याएको छ।

परियारका अनुसार गोठमा रहेका ४५ वटा भेडा–च्याङ्ग्रा मध्ये १६ वटा भेडा र ३ वटा च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा परेर मारिएका छन्। गोठभित्रै भएको यो आक्रमणबाट करिब ५ लाख ७० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको उनले बताए ।

करिब बिहान ४ बजे गोठ वरपर कुनै गतिविधि नदेखिएकाले हिउँ चितुवा सहजै भित्र पस्न सफल भएको मार्फाका स्थानिय सुरेन्द्र हिराचनले बताए । स्थानीयहरूका अनुसार पछिल्ला वर्षहरूमा पहाडी–हिमाली क्षेत्रमा हिउँ चितुवाद्वारा घरेलु पशुमा आक्रमण बढ्दो छ ।

यस्ता घटनाबाट बच्न गोठ सुरक्षाको सुदृढ व्यवस्था, फक्स लाईट जडान र कृषक तथा गोठालाको निगरानी आवश्यक रहेको नागरिक वैज्ञानिक मिलन विकले सुझाव दिए ।