काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेनजी आन्दोलनले अभिव्यक्त गरेको विचार मुलुकभरी सुशासनको माग रहेको बताएका छन् ।
आइतबार ललितपुर सातदोबाटोस्थित प्रहरी वृत्त तथा ट्राफिक प्रहरी परिसरको भवन पुननिर्माण पश्चात भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सुशासन हुनको लागि कानुनको शासन आवश्यक रहेको भन्दै यसको लागि प्रहरी मात्र पर्याप्त नभइ नागरिकहरुको पनि उत्तिकै भूमिका रहने धारणा राखे ।
उनले भने,‘जेनजी आन्दोलनले अभिव्यक्त गरेको विचार चाहीँ मुलुकभरी सुशासनको माग हो । सुशासन हुनको लागि कानुनको शासन चाहिन्छ । सुशासनको अभिन्न अंग चाहीँ कानुनको शासन नै हो । यसको लागि फेरी प्रहरी मात्र पर्याप्त हुँदैन । त्यसको लागि नागरिकहरुको पनि उत्तिकै भूमिका हुन्छ ।’
त्यस्तै, उनले नागरिकले आफ्नो गाँस कटाएर र आफ्नो महत्वपूर्ण समयलाई खर्च गरेर प्रहरी वित्त पुर्निमाण गरेकोमा प्रसंसा गर्दै यस्तो समाजमा परिवर्तन ल्याउने भावना भएका व्यक्तिको आज आवश्यक रहेको बताए ।
‘नागरिकले आफ्नो गाँस कटाएर ,आफ्नो घरको कामको महत्वपूर्ण समयलाई छोडेर सुरक्षा पहिला भनेर सुरक्षा प्रदान गर्ने यो निकायलाई यहाँ आएर भवन बनाएर दिनुभएको छ । यो भवन हस्तान्तरण त औपचारिक मात्र हो । त्यसभित्रको भावना जुन छ यस्तो भावना भएका र समाजमा परिवर्तन ल्याउने भावना भएका यस्ता व्यक्तिको साच्चिकै आवश्यक छ’ उनले भने ।
उनले नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध रहिरहँदा यस्ता भवनहरु सँधै सुरक्षित रहने बताए ।