गोवाको नाइट क्लबमा लागेको आगो होस् या इन्डोनेसिया वा हङकङको अग्लो भवन परिसरमा भएको आगलागी । आगलागीका दुर्घटनामा जलेर भन्दा धुवाँले गर्दा निसास्सिएर धेरैको ज्यान जाने गरेको तथ्यले धेरैलाई अचम्ममा पार्छ ।
तर किन यस्तो हुन्छ ? ज्यानै लिने गरी धुवाँले हाम्रो शरीरमा कस्तो असर पार्छ ? के हामी त्यस्तो धुवाँको असरबाट केही हदसम्म आफूलाई जोगाउन सक्छौँ ?
आगोको खोज, आगोको झिल्को पैदा गर्ने क्षमता, मानव विकासको एक ऐतिहासिक उपलब्धि हो । एक हिसाबले हेर्दा आगो मानिसले पत्ता लगाएको सबैभन्दा पुरानो प्रविधि हो । तर आगोसँगै जोडिएर आउने खतरा पनि त्यत्तिकै पुरानो छ ।
इतिहास हेर्दा, रोम र लन्डनको भीषण आगलागीको बढी चर्चा हुने गर्छ । सन् १८०३ मा मुम्बईमा लागेको आगोलाई पनि ‘भीषण बम्बे आगलागी’का रूपमा लिइन्छ । त्यसपछिका वर्षहरूमा मुम्बईको स्वरूप नै फेरियो । नयाँ योजनाहरू बने, सडकहरू फराकिला भए र शहरी विकासले तीव्रता पाए ।
तर आगलागी हुँदा सम्पत्तिसँगै ठूलो मात्रामा मानवीय क्षति पनि हुने गर्छ ।
भारतको राष्ट्रिय विपद् व्यवस्थापन संस्थानले सन् २०२० मा प्रकाशित गरेको प्रतिवेदनले आगलागीलाई सबैभन्दा घातक खतरा भनेको छ ।
आगलागी हुँदा वास्तवमा के हुन्छ ?
आगो लाग्न इन्धन वा ज्वलनशील पदार्थको खाँचो पर्छ । त्यसलाई सल्काउन ताप र आगो निरन्तर बलिरहन अक्सिजन आवश्यक हुन्छ । यसबाहेक, आगो भनेको आगो लागेपछि हुने रासायनिक प्रतिक्रियाहरूको शृङ्खला हो । अर्थात्, प्रारम्भिक घटनाको कारणले गर्दा एकपछि अर्को घटनाहरूको शृङ्खला हुन्छ ।
कागज, तेल, काठ, ग्याँस, कपडा, केही तरल पदार्थ, प्लास्टिक र रबर ज्वलनशील पदार्थ हुन् । यी पदार्थ जल्दा तापक्रम तीव्र रूपमा बढ्छ र आगो छिटो फैलिन्छ ।
आगो कति छिटो फैलिन्छ र तापक्रम कति बढ्छ भन्ने कुरा त्यस स्थानको आर्द्रता, ज्वलनशील पदार्थहरूको मात्रा र तिनीहरूको आकारमा निर्भर गर्दछ ।
तातोले गर्दा एकातिर छाला जल्न पुग्छ भने, अर्कोतर्फ धुवाँका कारण वरपरको देख्न पनि गाह्रो हुन्छ । ज्वलनशील पदार्थ जल्दा निस्कने बाफ आफैँमा पनि ज्वलनशील हुन्छ । ताप बढ्दै जाँदा तरल पदार्थ, ग्यास र केही धातुहरू फैलिन्छन् जसका कारण विस्फोटसमेत हुन सक्छ ।
सामान्य अवस्थामा हावामा करिब २१ प्रतिशत अक्सिजन हुन्छ । तर आगो बल्नका लागि भने १६ प्रतिशत अक्सिजन नै पर्याप्त हुन्छ । ज्वलनशील पदार्थ जल्दा अक्सिजनसँग प्रतिक्रिया हुन्छ र ताप उत्पन्न हुन्छ, जसले वरपरको अक्सिजन घटाउँछ । यसले आगलागीमा फसेका मानिसलाई गम्भीर असर पुर्याउँछ ।
शरीरमा आगो र धुवाँको प्रभाव
धुवाँ र अक्सिजनको कमीले सास फेर्न गाह्रो हुन्छ । शरीरले आवश्यक मात्रामा अक्सिजन नपाउँदा पैदा हुने अवस्थालाई निसास्सिनु भनिन्छ। आगलागी, डुबान वा श्वासनली अवरुद्ध हुँदा यस्तो हुन सक्छ ।
बीबीसीसँग कुरा गर्दै चिकित्सक अविनाश भोंडवे भन्छन्, “जब यो धुवाँ शरीरमा प्रवेश गर्छ, यो नाकबाट घाँटीमा, घाँटीबाट श्वासनली र त्यसपछि फोक्सो र एल्भिओलीसम्म पुग्छ । यस क्रममा सम्पूर्ण श्वास प्रणाली अत्यधिक सुन्निन्छ । सुन्निनुका कारण तरल पदार्थ जम्मा भई एल्भिओली भरिन्छन् ।”
उनका अनुसार यसले ‘एल्भिओली’ बन्द गरिदिन्छ, सास फेर्ने प्रक्रिया रोकिन्छ र रगतमा अक्सिजन पुग्न सक्दैन । यस अवस्थामा व्यक्तिको मृत्यु हुन्छ ।
अक्सिजनको मात्रा घट्दा रगतको अम्लता बढ्छ, जसलाई एसिडोसिस भनिन्छ । यसले व्यक्ति ‘शक’ मा जान्छ र रक्तचाप अत्यन्तै घट्छ । साथै, अत्याधिक तापले मुटुमा असर पारेर मुटुको काम नै बन्द हुन सक्छ ।
आगलागीमा जल्ने वस्तुहरूबाट निस्कने हानिकारक ग्यासहरूले पनि फोक्सोलाई गम्भीर क्षति पुर्याउँछन् । अक्सिजन कम हुँदा टाउको दुख्ने, चक्कर लाग्ने र बेहोस हुने समस्या देखिन सक्छ ।
डाक्टर भोंडवे भन्छन्, “धुवाँमा रहेको कार्बन मोनोअक्साइड रगतमा मिसिएर हेमोग्लोबिनसँग मिसिन्छ । यसले मस्तिष्क र मुटुलाई अक्सिजन पुग्न दिँदैन र अक्सिजन अभावले मृत्यु निम्तिन सक्छ ।”
यदि आगलागी भएको ठाउँमा प्लास्टिक, फमका बिछ्यौना वा ‘सिंथेटिक’ सामग्री छन् भने ती जल्दा ‘हाइड्रोजन साइनाइड’ जस्तो अत्यन्त हानिकारक ग्यास निस्कन्छ । यो ग्यासले रगतमार्फत कोषिकामा पुगेर अक्सिजन ग्रहण गर्ने प्रक्रियालाई अवरुद्ध गर्छ । फलस्वरूप, रगतमा अक्सिजन भए पनि कोषिकाले प्रयोग गर्न नसक्दा मृत्यु हुन सक्छ ।
आगो लागेको बेला धुवाँबाट कसरी जोगिने ?
यदि हामी आगोमा फस्यौँ भने धुवाँबाट आफूलाई जोगाउन गर्न सक्ने केही कुराहरू छन् ।
आगलागी बारे थाहा पाउने बित्तिकै दमकललाई फोन गर्नु अत्यन्तै आवश्यक छ ।
साथै, तपाईँ जहाँ जानुहुन्छ त्यहाँ वरपर ‘फायर एक्जिट’ कहाँ छ भन्ने कुरा पहिले नै ख्याल गर्नुहोस् ।
समूहमा भागाभाग गर्नुको साटो एक–एक गरी सिँढीबाट तल झर्नु सुरक्षित हुन्छ । यसले अग्नि नियन्त्रकलाई प्रवेश गर्न पनि सजिलो बनाउँछ । हडबडी र आत्तिएर भाग्दा भाग दौड निम्तिन सक्छ ।
आगलागी हुँदा यदि सम्भव भए बाहिर निस्कने प्रयास गर्नुहोस् । धुवाँ अत्याधिक भए नाक र मुखमा भिजेको कपडा वा रुमाल राख्नुहोस् । धुवाँ माथि तिर जाने भएकाले अत्याधिक धुवाँ भएको अवस्थामा भुईँतिर घिस्रिएर अगाडि बढ्नु राम्रो हुन्छ । भुईँको हावा तुलनात्मक रूपमा सफा हुन्छ ।
यदि तपाईँ कोठाभित्र हुनुहुन्छ र बाहिर आगो लागेको छ भने ढोकामुनिको कापा वा खाली ठाउँलाई भिजेको तौलिया वा तन्नाले थुन्नुहोस् ।
अन्त्यमा, एउटा सरल तर अत्यन्त महत्त्वपूर्ण कुरा— (शहरतिर) हामी लिफ्ट प्रयोग गर्न बानी परिसकेका छौँ । तर कहिलेकाहीँ सिँढी प्रयोग गर्ने अभ्यास पनि गर्नुपर्छ । सिँढी चढ्ने–ओर्लने शारीरिक अभ्यासले शरीरलाई अभ्यस्त बनाउँछ ।किनभने, यदि कुनै अग्लो भवनमा आगलागी भयो भने यही अभ्यास नै जीवनरक्षक साबित हुन सक्छ ।
(बीबीसी हिन्दीबाट)