• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गोवा नाइट क्लब आगलागी : भारत ल्याइयो थाइल्यान्ड भागेका लुथरा दाजुभाइ

काठमाडौं । पाँच नेपालीसमेत २५ जनाको ज्यान जाने गरी भारतीय प्रदेश गोवास्थित ‘बर्च बाई रोमियो लेन’ नाइट क्लबमा भएको आगलागीपछि भागेर थाइल्यान्ड पुगेका सञ्चालक दाजुभाइलाई मंगलबार भारत ल्याइएको छ।

डिसेम्बर ६ तारिख राति आगलागी भएको केही घण्टापछि नाइट क्लबका को-ओनर दाजुभाइ सौरभ र गौरव लुथरा थाइल्यान्ड भागेका थिए।

त्यसपछि इन्टरपोलबाट सूचना जारी गरिएका लुथरा दाजुभाइलाई थाइल्यान्ड प्रहरीले डिसेम्बर ११ मा पक्राउ गरेको थियो। नाइट क्लबका तेस्रो साझेदार अजय गुप्तालाई भने यसअघि नै गत हप्ता दिल्लीमा पक्राउ परेका थिए।

प्रहरीका अनुसार, भारत फर्काइएका लुथरा दाजुभाइसँग बयान लिइनेछ। तर दाजुभाइले नै आफूहरूले कुनै गलत काम नगरेको दाबी गरिरहेका छन्।

यही मंसिर २० गते अर्थात् डिसेम्बर ६ मध्यराति बिर्च नाइटक्लबमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको थियो। तीमध्ये ५ नेपाली छन्।

घटनापछि क्लबका मालिक लुथरा दाजुभाइ भारतबाट भागेर थाइल्यान्ड पुगेका थिए। उनीहरूविरुद्ध अपराधपूर्ण हत्या र लापरबाहीको आरोप लगाइएको छ।

उक्त आगलागीमा परी दाङका ३१ वर्षीय चूर्णबहादुर पुन, सिन्धुलीका लीलबहादुर कटुवाल (विवेक), डडेलधुराका मनोज जोरा, झापाका सबिन विश्वकर्मा र सुदीप गुरुङको मृत्यु भएको थियो।