• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेपाल ट्रस्ट जग्गा प्रकरण: पूर्वसचिवसहित ४ प्रतिवादीविरुद्ध साढे ५ अर्बको मुद्दा दायर

काठमाडौँ । नेपाल ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्गस्थित महँगो जग्गा लिजमा दिँदा भएको अनियमितता प्रकरणमा तत्कालीन सरकारी अधिकारी र व्यवसायीविरुद्ध ठगी मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बुधबार नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की र थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा तथा थामसेर्कु कम्पनीलाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा दायर गरिएको मुद्दामा ५ अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरिएको छ । साथै, प्रतिवादीहरूलाई ५ वर्ष कैद सजायको माग गरिएको छ ।

के हो प्रकरण ?

नेपाल ट्रस्टको नाममा रहेको काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित कित्ता नं. ४६०६ को १ रोपनी १४ आना जग्गा लिजमा दिँदा ठूलो आर्थिक चलखेल भएको सीआईबीको निष्कर्ष छ ।

प्रतिवादीहरूले सुरुमा नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेका थिए । तर, सम्झौता गर्दा भने जम्मा १ अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँमा मात्र गरिएको थियो । राज्यलाई झन्डै ५ अर्ब घाटा हुने गरी गरिएको उक्त सम्झौता नियमसङ्गत नदेखिएको र सोझै ठगी भएको दाबी अभियोगपत्रमा गरिएको छ ।

२०७४ जेठ १४ गते भएको उक्त सम्झौतामा भाडा बापत १ अर्ब ४० करोड १० लाख र निर्माण खर्च १९ करोड २९ लाख गरी कुल १ अर्ब ५९ करोड रुपैयाँ कायम गरिएको थियो । सम्झौतामा ३ वर्षको निर्माण अवधिसहित ३० वर्षका लागि जग्गा लिजमा दिइएको थियो ।

अख्तियारले तामेलीमा राखेको फाइल सीआईबीले जगायो

यो प्रकरणमा सात वर्षअघि नै अनियमितताको प्रश्न उठेको थियो । तर, अनियमितता र भ्रष्टाचारको पर्याप्त आधार हुँदाहुँदै पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन समयमा मिलेमतोमा फाइल तामेलीमा राख्ने निर्णय गरेको थियो ।

पछि यस प्रकरणमा ‘ठगी र आपराधिक विश्वासघात’ भएको भन्दै सीआईबीले अनुसन्धान अघि बढाएको थियो । करिब एक महिना लामो अनुसन्धानपछि सीआईबीले तत्कालीन सचिव, सहसचिव र सञ्चालक शेर्पामाथि ठगी तथा आपराधिक लाभको कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सोही आधारमा बुधबार अदालतमा मुद्दा दर्ता भएको हो ।