काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका र कानुनी प्रक्रिया पूरा नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट (देश निकाला) गरेको छ। बिहीबार दिउँसो उनीहरूलाई चार्टर्ड विमानमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फिर्ता पठाइएको हो।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनीका अनुसार डिपोर्ट गरिएकामा ७२ पुरुष र ३ महिला छन्। उनीहरूमध्ये अधिकांश ‘तल्लो बाटो’ अर्थात् मानव तस्करको सहयोगमा अवैध मार्ग हुँदै अमेरिका पुगेका थिए।
डिपोर्ट हुनेमा अवैध प्रवेशी (तल्लो बाटोबाट जोखिमपूर्ण यात्रा गरी अमेरिका छिरेकाहरू), भिसा उल्लंघनकर्ता (भिजिट भिसामा गएर लुकेर बस्नेहरू), पीआर नवीकरण नगरेका (विगत ३० वर्षदेखि अमेरिकामा बस्दै आएका तर पीआर कार्ड (ग्रीन कार्ड) नवीकरण नगरेका), कैदीबन्दी (अमेरिकामा विभिन्न कसुरमा ७ महिनादेखि २ वर्षसम्म जेल सजाय काटेका) व्यक्तिहरु रहेका छन्।
फिर्ता भएका नेपालीहरूले बिचौलिया र मानव तस्करलाई एक करोड रुपैयाँसम्म बुझाएर अमेरिका पुगेको बयान दिएका छन्। अवैध बाटोबाट जाँदा ठूलो आर्थिक नोक्सानीसँगै ज्यानको जोखिम मोलेका उनीहरू अहिले रित्तो हात घर फर्कन बाध्य भएका हुन्।
उनीहरूलाई थप अनुसन्धानका लागि अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाइएको छ।
अमेरिकामा डोनाल्ड ट्रम्पले २० जनवरी २०२५ मा सत्ता सम्हालेयता आप्रवासीहरूमाथि कडा नीति अख्तियार गरेका छन्। ट्रम्प निर्वाचित भएयता ४३९ जना नेपाली डिपोर्ट भइसकेका छन्, जसमा ३० महिला छन्।
अमेरिकी प्रशासनले पहिचान गरेका १४ लाख ४५ हजार बढी अवैध आप्रवासीलाई देश निकाला गर्ने घोषणा गरेको छ। यस सूचीमा १ हजार ३६५ जना नेपालीको नाम समावेश रहेको बताइएको छ। ट्रम्प प्रशासनको यो अभियानले अमेरिकामा अवैध रूपमा बसिरहेका वा कानुनी हैसियत नभएका अन्य नेपालीहरूमा पनि त्रास फैलाएको छ।