काठमाडौँ । मारवाडी सेवा समिति नेपालको ७३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । समितिले पौष ६ गते अध्यक्ष प्रमोदकुमार चौधरीको सभापतित्व तथा पूर्व अध्यक्ष राजेन्द्र कुमार खेतानको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा अध्यक्ष चौधरीले समाजमा देखावटी परम्परा, पारिवारिक विखण्डन, गौधन व्यवस्थापन, गौधाम धार्के निर्माण, तथा समिति अन्तर्गत भइरहेका सेवा कार्यहरूबारे धारणा राख्दै समाजको एकतामा जोड दिए । प्रमुख अतिथि खेतानले समाजका सबै तह एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राखे ।

साधारण सभाले महासचिव धर्मेन्द्र अग्रवालले प्रस्तुत कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
यसबाहेक, कार्यक्रममा हुलाक टिकट सङ्कलनको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक विजेता ऋषिकुमार तुलस्यानू, वरिष्ठ तबला बादक राजु अग्रवाल (टिवडेवाल), नेपाल राष्ट्र बैङ्कका आन्तरिक लेखा परीक्षण विभागका उप–निर्देशक (अधिकृत द्वितीय) स्नेहा अग्रवाल र नेपाल परराष्ट्र सेवा शाखा अधिकृतमा मधेसी कोटातर्फ २३ वर्षको उमेरमा लोक सेवाको परीक्षामा एक नम्बरमा नाम निकाल्न सफल त्रिशा अग्रवाललाई सम्मानित गरिएको थियो ।
यस्तै, ८१६३ मिटर अग्लो मनासलु हिमाल आरोही प्रीति अग्रवाल रत्तेरिया, ६११९ मिटर अग्लो लुबुच्छे हिमाल आरोही गौरव अग्रवाल र अदिति हिरावतूलाई समेत योगदानको कदर गर्दै सम्मानित गरिएको थियो ।

कार्यक्रममा समाजका ६९ जना विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टता सम्मान तथा दीर्घसेवी कर्मचारी शिवराम चौलागाईंलाई नगद प्रोत्साहनसहित कदर पत्र प्रदान गरिएको थियो ।