काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मिराज ढुङ्गानाको जेनजी समूहलाई विरोध प्रदर्शनका निम्ति अनुमति नदिएको जनाएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वरराज पौडेलले जेनजी समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाए पनि अनुमति नदिएको बताए ।
उनले भने, ‘उहाँहरूले सूचना र निवेदन दिनुभएको छ । सानोतिनो प्रदर्शन मात्र गर्ने हो भन्नु भएको छ । हामीले आन्दोलनको उचित तरिकाले व्यवस्थापन गर्नेछौँ । आन्दोलनका लागि कुनै किसिमको अनुमति भने दिएका छैनौँ ।’
आइतबार आन्दोलनको घोषणा गरेका जेनजी समूहले अनुमति नै नलिई सडकमा उत्रने उद्घोष गरेका थिए । जेनजी समूहको विरोध प्रदर्शन सोमबार बिहान ११ बजेदेखि माइतीघरमा हुने भनिएको छ ।