• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एउटा हत्या अनुसन्धान गर्दा अर्का व्यक्तिको पनि हत्या भएको खुलासा, २ जना पक्राउ

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित शेरेफाँटमा बोरामा प्याक गरिएको अवस्थामा शव भेटिएको घटनाको अनुसन्धानका क्रममा अर्का एक व्यक्तिको पनि हत्या भएको रहस्य खुलेको छ।

प्रहरीका अनुसार उक्त घटनामा भोजपुरका २१ वर्षीय पारुहाङ राईको पनि हत्या भएको पुष्टि भएको हो। पारुहाङको शव ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रको जङ्गलमा फेला परेको छ। टाउकोमा गहिरो चोट लागेको अवस्थामा भेटिएको उनको शवलाई अहिले पोस्टमार्टमका लागि भक्तपुरस्थित केएमसी अस्पतालमा राखिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीका अनुसार प्रारम्भिक अनुसन्धानबाट दुवै हत्या एक-अर्कासँग अन्तरसम्बन्धित देखिएका छन्। एसएसपी बोगटीले भने, ‘हामी यसको गम्भीर अनुसन्धान गर्दैछौँ।’

यसअघि गत पुस २ गते ललितपुरको महालक्ष्मी नगरपालिका–८, शेरेफाँटस्थित एउटा इनारमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुको शव बोरामा बाँधिएको अवस्थामा फेला परेको थियो। प्रहरीको आशङ्का अनुसार हायुको हत्या हुँदा पारुहाङ पनि सोही स्थानमा रहेका थिए र पछि उनको पनि हत्या गरी जङ्गलमा फालिएको हुन सक्छ।

दुवै हत्यामा एउटै समूहको संलग्नता रहेको प्रहरीको दाबी छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। सुरुमा पक्राउ परेका देवराज ढुङ्गेलको बयानका आधारमा प्रहरीले अर्का आरोपी जयराज अधिकारीलाई सोमबार बिहान सिन्धुलीबाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै व्यक्तिमाथि थप सोधपुछ र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।