• २०८३ असार १३
  • 2026 June 27, Saturday

कतारद्वारा १३ नेपाली कैदीलाई आममाफी, नेपाल सरकारद्वारा आभार व्यक्त

काठमाडौँ । कतार सरकारले कतारका विभिन्न जेलमा रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सुखद अवसर पारेर ती नेपाली कैदीहरूलाई रिहाइ (आममाफी) दिएको हो।

परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारले प्रदान गरेको उक्त ‘अमिरी आममाफी’ का लागि विशेष धन्यवाद ज्ञापन गरेको छ। मन्त्रालयले मानवीय आधारमा दिइएको यो क्षमादानको उच्च कदर गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “मानवीय आधारमा प्रदान गरिएको यो क्षमादानले नेपाल र कतारबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको गहिरो मित्रता र सौहार्दतालाई थप प्रगाढ बनाएको छ।” सरकारले यसलाई कतार सरकारको उदारता र मित्रवत व्यवहारको अभिव्यक्तिको रूपमा लिएको जनाएको छ।

नेपाल र कतारबीचको सम्बन्ध पछिल्लो समय थप मजबुत बन्दै गएको छ। यसअघि कतारका राजा (अमिर) को नेपाल भ्रमणका क्रममा र द्विपक्षीय सम्बन्ध विस्तारका लागि नेपालले हालै कतारलाई २ वटा हात्ती उपहार स्वरूप प्रदान गरेको थियो।

वैदेशिक रोजगारीका लागि कतार नेपालीहरूको प्रमुख गन्तव्य मुलुक हो। हाल कतारमा करिब ५ लाख नेपाली कार्यरत छन्। सरकारी तथ्यांक अनुसार गत वर्ष मात्रै १ लाख ४० हजार ७ सय ९२ जना नेपालीहरू रोजगारीका लागि कतार गएका थिए।