• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

डेढ महिनाको ‘खडेरी’ तोड्न आएको पश्चिमी वायु कमजोर ! छैन उल्लेख्य वर्षाको सम्भावना

काठमाडौँ । मंसिरको मध्यदेखि आकाश खुलेको छ, तर धर्ती सुक्खा छ। वायुमण्डलमा धुलो र धुवाँको कण थुप्रिँदा काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरहरू ‘ग्यास च्याम्बर’ जस्ता बन्न थालेका छन्। किसानहरू आकाशतिर हेरेर हिउँदे बालीका लागि पानीको प्रतीक्षा गरिरहेका छन्।

यही निराशाजनक सुक्खायामका बीच शुक्रबार (पुष १८ गते) देखि भने मौसममा केही हलचल सुरु भएको छ। तर, के यो प्रणालीले किसानले चाहेजस्तो वर्षा गराउला त ?

कमजोर प्रणाली, छिटपुट मात्र वर्षा

लामो समयपछि पश्चिमी वायु नेपाल प्रवेश गरे पनि यो निकै कमजोर अवस्थामा रहेको मौसमविद्हरूले बताएका छन्। मौसमविद् वरुण पौडेलका अनुसार अहिले नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले ठूलो वर्षा गराउने सम्भावना छैन। ‘अहिलेको पश्चिमी वायु निकै कमजोर छ,’ पौडेल भन्छन्, ‘यसले उच्च हिमाली भू–भागमा अलिअलि हिमपात गराउने र पहाडी भू–भागका केही स्थानमा मात्र हल्का वर्षा गराउने संकेत देखिएको छ।’

उनका अनुसार यो वर्षा व्यापक नभई छिटपुट मात्र हुनेछ। ‘यो ठूलो वर्षाको प्रणाली होइन, एक–दुई दिन मात्र रहने देखिन्छ,’ पौडेलले स्पष्ट पारे। उनका अनुसार तराई र भित्री मधेशमा लागेको बाक्लो हुस्सु भने कम भएको छ ।

डेढ महिनादेखि ‘शून्य’ वर्षा

नेपालमा मनसुन (जेठदेखि असोजसम्म) को वर्षा बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाका कारण हुन्छ। तर, हिउँदमा हुने वर्षाको कहानी फरक छ। यसको ‘कनेक्सन’ हजारौँ किलोमिटर टाढा रहेको भूमध्य सागरसँग जोडिन्छ।

हिउँदे वर्षा गराउने मुख्य प्रणालीलाई ‘पश्चिमी वायु’ भनिन्छ। यो एक प्रकारको आँधी हो, जुन भूमध्य सागरको आसपासबाट उत्पन्न हुन्छ। त्यहाँको समुद्रबाट जलवाष्प बोकेर उठेको यो वायुलाई माथिल्लो वायुमण्डलमा चल्ने तीव्र गतिको हावाले पूर्वतर्फ धकेल्छ।

यो वायु इरान, अफगानिस्तान, पाकिस्तान र भारतको जम्मु–कश्मीर भएर नेपाल प्रवेश गर्छ। जब यो ओसिलो हावा नेपालको उत्तरमा रहेको अग्लो हिमालय शृङ्खलासँग ठोक्किन्छ, तब यो माथि उठ्छ र चिसिन्छ। परिणाम स्वरूप, उच्च हिमाली भेगमा हिमपात हुन्छ भने पहाडी भू–भागमा वर्षा हुन्छ। यही प्रणालीले तराईको बाक्लो हुस्सुलाई पनि धकेलेर मौसम सफा बनाउन भूमिका खेल्छ।

मौसमविद् धर्मराज उप्रेतीका अनुसार मंसिर १६ गतेदेखि हिउँदे अवधि सुरु भएयता देशभर ‘एक थोपा’ पनि पानी परेको छैन। अर्थात् वर्षाको मात्रा ० प्रतिशत छ। लामो समय पानी नपर्दा वायुमण्डलमा प्रदूषणको मात्रा ह्वात्तै बढेको छ भने गहुँ, जौ जस्ता हिउँदे खेतीका लागि यो अवस्था निकै घातक बन्दै गएको छ।

उप्रेती भन्छन्, ‘पुष १ गतेदेखि तराई र भित्री मधेशमा लागेको बाक्लो हुस्सुले जनजीवन कष्टकर बनाएको थियो। तर, अब पश्चिमी वायुको प्रवेशसँगै मौसमको ‘प्याटर्न’ बदलिएको छ।’

मौसमविद् विनोद पोखरेलका अनुसार यो पश्चिमी वायु अलि कमजोर प्रकृतिको भए पनि यसले एउटा ठूलो काम गरेको छ– तराईको हुस्सु हटाउने। ‘कमजोर भए पनि पश्चिमी वायुले तराईमा जमेको हुस्सुलाई हटाएर धेरै दिनपछि तराईवासीलाई घाम देख्ने मौका दिएको छ,’ पोखरेल भन्छन्।

उनका अनुसार तराईमा वर्षाको सम्भावना कम भए पनि हिमाली र पहाडी भेगमा भने शुक्रबार र शनिबार हल्का वर्षा र हिमपातको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन र विज्ञहरूको विश्लेषण अनुसार आगामी तीन दिनको मौसमको अवस्था यस्तो रहनेछ:

पुष १८ (शुक्रबार): पश्चिमी वायुको प्रभावले कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ। सुदूरपश्चिममा पनि छिटपुट वर्षा हुन सक्छ। तराईमा बाक्लो हुस्सु हट्दै जानेछ।

पुष १९ (शनिबार): कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराईका धेरै स्थानमा बिहानीपख हुस्सु लाग्न सक्छ।

पुष २० (आइतबार): पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर बन्दै जानेछ। तर कोशी र गण्डकीको उच्च भेगमा हल्का हिमपातको सम्भावना कायमै रहनेछ।

अहिले तराईमा न्यूनतम तापक्रम १०–१२ डिग्री सेल्सियस, काठमाडौँमा ५–७ डिग्री सेल्सियस र जुम्लामा माइनस ५ डिग्री सेल्सियसको हाराहारीमा छ। पश्चिमी वायुले बादल ल्याउँदा न्यूनतम तापक्रम केही बढे पनि अधिकतम तापक्रम घट्दा दिउँसो चिसो महसुस हुन सक्छ।