काठमाडौँ । सरकारले दक्षिण कोरियाली वैदेशिक रोजगारी अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरी ‘रोस्टर’ मा रहेका तर जान नपाएका युवाहरूको समस्या समाधानका लागि विशेष पहल गर्ने निर्णय गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री राजेन्द्रसिंह भण्डारीको उपस्थितिमा भएको छलफलले रोस्टरमा रहेका उम्मेदवारहरूको हितमा तीनवटा महत्वपूर्ण निर्णय गरेको हो।
मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार भएका मुख्य निर्णयहरू :
१. रोस्टरको अवधि थप गरिने: भाषा परीक्षा पास गरेर पनि रोजगारी प्राप्त गर्न नसकेका उम्मेदवारहरू समय सीमाका कारण अवसरबाट वञ्चित हुने अवस्था देखिएकाले, रोस्टरको मान्य अवधि थप गर्न कोरिया सरकारसँग कूटनीतिक माध्यमबाट अनुरोध गरिनेछ।
२. कोटा वृद्धिका लागि पहल: ईपीएस प्रणाली अन्तर्गत दक्षिण कोरिया जाने नेपाली कामदारहरूको संख्या (कोटा) वृद्धि गर्नका लागि आवश्यक कूटनीतिक पहल सुरु गरिने मन्त्रालयले जनाएको छ।
३. पारदर्शिताका लागि कार्यदल गठन: रोस्टरमा रहेका व्यक्तिहरूको व्यक्तिगत विवरण रोजगारदातासमक्ष पठाउने प्रक्रियालाई अझ बढी पारदर्शी र निष्पक्ष बनाउन एक कार्यदल गठन गरिएको छ। उक्त कार्यदलले आवश्यक सुझावसहित सिफारिस पेस गर्नेछ।
छलफलमा श्रम मन्त्री भण्डारीसहित मन्त्रालयका सचिव, उच्चपदस्थ कर्मचारी, वैदेशिक रोजगार विभागका महानिर्देशक र रोस्टरमा रहेका व्यक्तिहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
लामो समयदेखि रोस्टरमा रहेर पनि कोरिया जान नपाएका युवाहरूले मन्त्रालयमा आफ्ना मागहरू राख्दै आएका थिए। मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेद्वारा जारी विज्ञप्तिमा ती मागहरू र ईपीएस प्रणालीमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख छ।