काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेको छ । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिलाई आयोगले आधिकारिक मान्यता दिएपछि सो निर्णय कानुनविपरीत रहेको दाबी गर्दै देउवा पक्षले रिट दायर गरेको हो ।
देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती र अधिवक्ता लक्ष्मी दाहाल रावलसहितको टोलीले सर्वोच्चमा रिट निवेदन पेस गरेको जानकारी दिइएको छ । अदालत प्रशासनका अनुसार रिट दर्ता तथा प्रारम्भिक अध्ययनको प्रक्रियामा छ ।
देउवा समूहले विशेष महाधिवेशन नै विधान र प्रक्रिया विपरीत बोलाइएको भन्दै त्यसबाट निर्वाचित कार्यसमितिलाई अवैधानिक ठहर गर्न माग गरेको छ । सोही आधारमा निर्वाचन आयोगले दिएको मान्यता बदर हुनुपर्ने उनीहरूको जिकिर छ ।
यसअघि शनिबार सानेपामा बसेको देउवा पक्षको बैठकले आयोगविरुद्ध अदालत जाने निर्णय गरेको थियो । बैठकले पूर्णबहादुर खड्कालाई सर्वोच्च अदालतमा जाने अख्तियारी दिएको थियो । गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित हुँदै १३४ सदस्यीय कार्यसमिति गठन भएको थियो ।
रिट दर्ता भएपछि सर्वोच्चले प्रारम्भिक रूपमा कानुनी आधार र प्रक्रिया पुगे–नपुगेको अध्ययन गर्नेछ । दर्ता भएमा एकल इजलासमा सुनुवाइ भई निर्वाचन आयोगको निर्णय कार्यान्वयन रोक्ने वा नरोकिने विषयमा अन्तरिम आदेश आउन सक्नेछ । यदि अदालतले अन्तरिम आदेश जारी गर्यो भने निर्वाचन प्रक्रिया प्रभावित हुनसक्ने छ भने आदेश नआए गगन थापा नेतृत्वको कांग्रेस चुनावी प्रक्रियामा अघि बढ्ने मार्ग खुला हुनेछ ।