बाग्लुङ। आगामी फागुन २१ मा हुन लागिरहेको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाग्लुङमा विवाद देखिएको छ। पार्टी केन्द्रले क्षेत्र नम्बर १ मा सुशील खड्कालाई टिकट दिएपछि नेताहरूले विरोध जनाएका हुन् ।
विशेषगरि बाग्लुङको निर्वाचन क्षेत्र नम्वर १ मा टिकट दिने क्रममा पार्टी केन्द्रले ठाडो हस्तक्षेप गरेको भन्दै जिल्ला नेताहरुले अबिलम्ब निर्णय सच्याउन माग गरेका छन्।
नेताहरुले पार्टी केन्द्रले कहिल्यै जनतासामु देखा नपरेका र बागलुङ क्षेत्र नं : १ को भुगोल नै नबुझेको ब्यक्तिलाई टिकट दिएको भन्दै निर्णय नसच्याए बागी उम्मेद्वारी दिने या निर्वाचनमा असहयोग गर्ने चेतावनी दिएका हुन्।
गत निर्वाचनमा क्षेत्र नम्बर १ बाट प्रतिष्पर्धा गरिसकेका र अहिले पनि टिकटका दाबेदार समेत रहेका खिमानन्द कँडेलले केन्द्रबाट हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले पार्टीले गलत निर्णय गरेको बताएका छन्।
‘टिकट वितरणमा राष्ट्रिय स्वतन्त्र पार्टीमा केन्द्रबाट भएको ठाडो हस्तक्षेपको हामी निन्दा गर्दछौँ,’ उनले लेखेका छन्, ‘बागलुङ जिल्लाको परिवर्तनको लडाइँमा कुनै योगदान नदिएका रास्वपा भित्र ग्याङ अफ अमेरिकन क्लबको लिस्टमा अटेर केन्द्रमा पहुँच राख्ने मित्रलाई टिकट थमाएको खबर छ । यो बागलुङे जनताको हित विरुद्धको कदम भयो ।’
अर्का नेता राजेन्द्र शर्माले पनि केन्द्रको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्। पार्टीको यो निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने शर्माको भनाइ छ।