• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेपाली कम्युनिष्ट पार्टीको समानुपातिक बन्दसूचीमा डा. राजन झा समावेश

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फागुन २१ को लागि निर्वाचन आयोगमा पेश गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा डा. राजन झाको नाम समावेश गरेको छ।

पेशाले चिकित्सक रहेका झा अखिल क्रान्तिकारी केन्द्रका सचिवालय सदस्य हुन्। विगत १०–१२ वर्षदेखि विद्यार्थी राजनीतिमा निरन्तर सक्रिय उनी एक अनुभवी र प्रभावशाली संगठनकर्ताका रूपमा चिनिन्छन्। यसअघि उनी अखिल क्रान्तिकारीको निर्वाचनमा निर्विरोध निर्वाचित भइसकेका व्यक्ति हुन्।

राजनीतिक विश्लेषकहरूका अनुसार, डा. झाको समावेशले पार्टीको समानुपातिक प्रतिनिधित्वलाई थप बौद्धिक र सुदृढ बनाएको छ। संगठनात्मक क्षमता, वैचारिक स्पष्टता र नेतृत्व कौशलका कारण उनी पार्टीभित्र स्थापित अनुहार हुन्। उनलाई नयाँ पुस्ताको भावना बुझ्ने र मुद्दा उठाउने नेतृत्वको रूपमा हेरिएको छ।

सामाजिक न्याय, शैक्षिक सुधार, विद्यार्थी अधिकार र नीति निर्माणमा युवाहरूको निर्णायक भूमिका हुनुपर्ने एजेन्डासहित उनी राजनीतिमा सक्रिय छन्। निर्वाचन आयोगले तोकेको प्रक्रिया अनुसार नेपाली कम्युनिष्ट पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो बन्दसूची दर्ता गराएको हो।

बौद्धिक क्षमता र लामो समयदेखिको राजनीतिक संघर्षका कारण डा. झाको भूमिका आगामी दिनमा राष्ट्रिय राजनीति र संसदीय अभ्यासमा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।